धादिङ, ८ वैशाख । धादिङको नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यलाई स्थानियबासीले कालोमोसो दलेका छन् । वडा नम्बर १ स्थित कैचले बजारमा लामो समयदेखि बस्दै आएका केही व्यक्तिको घर टहरा भत्काउन डोजरसहित पुगेका शाक्यलाई स्थनियबासीले भ्याकुर्खेदाई गरेका हुन् ।
स्थानियबासीले शाक्यलाई एक किलोमिटरसम्म लखेटेको र त्यसक्रममा प्रहरीसँग झडप भएको एक स्थानियले बताए ।
प्रहरी समेत लिएर गएका शाक्य र स्थानियबासीबीच झडप भएको थियो । झडपमा तीन जना घाइते समेत भएको एक व्यक्तिले बताए ।
‘उहाँलाई देख्ने वित्तिकै स्थानियबासी आक्रोशित भए । त्यो क्रममा सामान्य झडप पनि भयो । कालो मोसोले गाउँपालिका अध्यक्षमाथि प्राहार पनि भयो,’ एक स्थानियबासीले दियोपोस्टलाई भने,‘उहाँ पहिलेदेखि नै पुर्वाग्रही ढंगले आउनु भएको थियो । उहाँले राजनीतिक हिसाबले हामीमाथि प्रतिशोध साँध्नु भयो ।’
गाउँपालिका अध्यक्ष शाक्यले आफुलाई कालोमोसो फ्याँक्दा थोरै लागेको बताए ।
‘म अहिले यही स्थानमा छु । घर टहरा भत्काउनुस् भन्न म गएको थिएँ । झडप भन्दा पनि सामान्य केही भएको हो । कालोमोसो फ्याँक्दा मलाई परेको हो,’ अध्यक्ष शाक्यले दियोपोस्टसँग भने ।