‘लेनदेन मुद्दा’मा प्रहरीको नाटकीय चासो : पक्राउ पूर्जीबिनै हिरासतमा राखेर चेक काट्न दबाव !

दियोपोस्ट संवाददाता

काठमाडौं, १० वैशाख । महानगरीय प्रहरी बृत्त गौशालाले गैरकानुनी रुपमा एक व्यक्तिलाई हिरासतमा राखेको खुलाशा भएको छ ।

चन्द्रागिरी नगरपालिका थानकोट घर भएका नवराज परियारलाई लेनदेन मुद्दामा पक्राउपूर्जि बिनै पक्राउ गरि हिरासतमा राखेको खुलाशा भएको हो ।


चन्द्रागिरी नगरपालिका बाडभञ्ज्याङमै भएको जग्गा कारोबारको लेनदेनलाई लिएर परियारलाई पक्राउ गरि गौशाला पुर्याइएको हो । प्रहरी हिरासतमा परियारलाई प्रहरीले यातना दिएर लेनदेन गराउन दबाव दिएको समेत खुलेको छ ।


‘पक्राउ गरेपछि प्रहरीले चेक नदिए तलाई थुन्छौँ भन्दै दबाव दिए । प्रहरीको दबावपछि हामीसँग चेक समेत मागिएको छ,’ परियारका आफन्तले दियोपोस्टसँग भने,‘प्रहरीकै सेटिङमा फोन ट्यापिङ समेत गरिएको रहेछ ।’

प्रहरी हिरासतमा रहेका परियारबारे बुझ्न दियोपोस्टले विहिबार ९ बजेर ६ मिनेटमा डिएसपी जितेन्द्र बस्नेतलाई सम्पर्क गर्दा उनले पक्राउ पुर्जिको आधारमा परियारलाई पक्राउ गरिएको बताए । उनले सडकमा झगडा गरेको आधारमा पक्राउ गरिएको समेत बताए ।


‘त्यो पीडितले आफैले लिएर आएको थियो । यहाँ अफिसमै छ । उनीहरुको लेनदेनको विषयमा बाटोमा झगडा परेछ । झगडा परेपछि मोटरसाइकलले पनि हान्दिएछ । यीनीहरु छलफलमै छन्,’ पक्राउ पुर्जी पनि छ भन्ने दियोपोस्टको प्रश्नमा बस्नेतले भने,‘पक्राउ पुर्जी भई हाल्छ त्यो कुन ठूलो कुरा भयो र ? झगडा गरेर आफै आएका हुन् । छलफलमै छन् ।’


लेनदेन मुद्दामा पक्राउ परेको हो भन्ने दियोपोस्टको प्रश्नमा बस्नेतले भने,‘लेनदेन हो की के हो मेरो इन्सपेक्टरसापले हेर्दै छ । झगडा गरिरहेको अवस्थामा समातेर लिएर आएको हो । झैझगडा त हेर्न पाइयो नी । लेनदेन त उनीहरु आफैले हेरुन् । झैझगडाको कुरा हामी हेर्छौं लेनदेन हेर्दैनौँ ।’


झगडा गरेको अभियोगमा त दुवै पक्षलाई पक्राउ गरिने भएपनि प्रहरीले एक जनालाई मात्रै पक्राउ गरेको छ ।

दियोपोस्टले डिएसपी बस्नेतलाई फोन गरेको केहीबेर पछि एउटा पक्राउपूर्जीको कागजातमा हस्ताक्षर गराएर परियारलाई छाडिएको पाइएको छ । विहिबार राती ११ बजे आफन्तको जिम्मामा छाडिएका परियारले भने आफूलाई प्रहरीले हिरासत भित्रै चेक दिन दबाव दिएको बताए ।

उनको बयान यस्तो छ :

विहिबार म सहकारीमा पैसा पुर्याउनका लागि भनेर भक्तपुर जाँदै थिएँ । तिनकुनेमा ट्राफिक लाइटमा रोकिएँ । त्यहाँ श्याम थापा भन्ने मान्छे आएर एक्कासी मेरो मोटर साइकलको चाबी खोसे । मलाई चोर फटाहा भन्दै गाली गरियो । ट्राफिक जाम हुने भएपछि म मोटरसाइकल डोराउँदै अलि माथी गएँ । श्याम थापा म भएतिरै आए । त्यहाँ के घटना भयो भनेर सिसिटिभी फूटेज पनि हेर्न सकिन्छ । श्यामले मलाई हातपात गर्न खोजिरहेको थियो । प्रहरीको भ्यान बोलाएर मलाई एक घण्टाजति बानेश्वर बृत्तमा राखियो । छलफलमा भनेर मलाई गौशाला लगियो तर, छलफलमा उनीहरु बसेर मलाई थुनाकक्षमा राखियो । राती साढे ९ बजे मेरो मोबाइल पनि जफत गरियो । प्रहरीले मलाई चेक काट्न हिरासत भित्रै दबाव दिएको थियो । प्रहरीका सिपाही आरके अवस्थी भन्ने व्यक्तिले हिरासतमै चेक काट्न दबाव दिए । पैसा दिएर जा भन्दै धम्की समेत दिए ।


एक्कासी राती ११ बजेतिर तपाईं घर जाने भए मान्छे बोलाउनु भन्दै प्रहरीले भन्नुभयो । मैले मेरो भेनालाई बोलाएँ । भेनालाई भित्र बोलाएर भोली विहान ९ बजे भित्र ल्याइनस् भने तलाई थुन्छु भन्दै थर्काएछ । मलाई बाहिर एउटा पत्रमा हस्ताक्षर गराए । त्यो पत्र पक्राउ पुर्जीको रहेछ । राती ११ बजे म पठाओ बोलाएर घर आएँ ।


के थियो श्याम थापासँग विवाद ?


श्याम थापा भन्ने व्यक्ति मेरो जग्गा किन्न आयो । जग्गा बैना पनि गरियो । मलाई चेक दियो । चेक पनि छ । उनीहरु त्यो चेक खोसेर कागज गराउन खोजेका रहेछन् । त्यही जबरजस्ती गर्न मलाई पक्राउ गरिएको रहेछ ।