सगरमाथामा मंगोलियन मृत्यु प्रकरण : ट्रेकिङ कम्पनीमाथि छानबीन गर्दै विभाग, शव उठाउन कठिन्

अस्मिता खड्का  

काठमाडौं । गाइडविना सगरमाथा आरोहणको क्रममा सम्पर्कविहिन भएका दुईजना मंगोलियन आरोहिको शव फेला परिसकेको छ । सगरमाथाको चुचुरोमा पुगेर फर्किने क्रममा दुवै आरोहिले ज्यान गुमाएको अधिकारीहरुले बताएका छन् । घटनाबारे पर्यटन विभागले सम्बन्धित व्यक्तिका आफन्तलाई जानकारी गराएको थियो ।

तर मृतकका आफन्तले भने धार्मिक कारण देखाउँदै शव बुझ्न सहमत नभएको पर्यटन विभागका प्रवक्ता काली बहादुर भुजेलले बताए । ‘मृतकका आफन्त मंगोलियाबाट नेपाल आउनु भएको थियो । घटनाबारे सम्बन्धित व्यक्तिका आफन्तलाई बोलाएर समेत छलफल गरेका थियौ’ उनले भने, ‘उहाँहरुको धार्मिक परम्पराअनुसार जहाँ मृत्यु भयो त्यहि शव छोड्नुपर्ने रहेछ ।

उहाँहरुले ‘लामा गुरुले भनेअनुसार शव ल्याउन मिल्दैन, शव ल्याउदैनौ’ भन्ने कुरा गरिराख्नुभाछ । तर हाम्रो कानुनले मृत शरिर सगरमाथामा छोड्न दिँदैन । यसबारे मंगोलियन कन्सुलर विभागका अधिकारीलाई समेत बोलाएर सम्झाइ बुझाइ गरिसकेका छौ ।’
कानुनअनुसार मृत शरिर, फोहोरमैला सगरमाथा क्षेत्रमा राख्न पाइदैन । सोहि कारण दुवै मंगोलियन आरोहिको शव ल्याउने प्रक्रिया अघि बढाउन पर्यटन विभागले सम्बन्धित एजेन्सीलाई निर्देशन दिइसकेको छ ।

‘मृतकको आफन्तले नमानेर मात्र हुँदैन । नेपालको कानुनअनुसार त्यसो गर्न पाइदैन भनेर स्पष्ट गरिसकेका छौ र सम्बन्धित एजेन्सीलाई ती शवहरु ल्याउने प्रक्रिया अघि बढाउन पनि गरिसकेका छौ’ विभागका प्रवक्ता भुजेलले दियो पोष्टसँग भने, ‘शव ल्याउनु वास्तवमै चुनौतीपुर्ण छ । शव हालसम्म तल ल्याइसकेको छैन । एउटा शव सजिलो ठाउँमा भएपनि अर्को शव निकै अप्ठेरो ठाउँमा छ । डोरी टाँगेर शव ल्याउनुपर्ने हुन्छ ।’

मंगोलियनका आरोहि ५३ वर्षीय उसुख्जर्गेल र ३१ वर्षीय पुर्वासुरेन लाखेग्वाजव काठमाडौस्थित ‘८ के एक्स्पीडिसन’ नामक ट्राभल एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि गएका थिए । उनीहरु आरोहण गाइडविना नै सगरमाथा आरोहणको लागि निस्केका थिए । दुवै आरोहिले गत वैशाख ३० मा गते बिहान ११ः ५७ मा सगरमाथा शिखरको आरोहण गरेका थिए भने आरोहणबाट फर्किने क्रममा दुवैको ज्यान गएको एभरेष्ट क्रोनिकलको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टअनुसार दुवै आरोहि एकसाथ सगरमाथा शिखरमा पुगेका थिए भने दुवैले एकअर्काको तस्बिर खिचेका थिए । तस्बिरमा मौसम पनि सफा देखिएपनि फर्किने क्रममा अक्सिजन अभाव या अन्य कारण ज्यान गुमाएको हुन सक्ने ८ के एक्सपेडिसनका संस्थापक पेम्बा शेर्पाले एभरेष्ट क्रोनिकलसँग बताएका छन् ।

गाइडविना सगरमाथा पठाएको स्पष्टीकरण माग्न एजेन्सीलाई विभागको पत्र

पर्वतारोहण नियमावली २०५९ अनुसार आरोहण गर्ने जुनसुकै व्यक्ति वा संस्थाले नेपाल सरकारको सम्बन्धित निकायसँग आरोहणको अनुमती लिनुपर्ने हुन्छ । पर्वतारोहण गर्ने विदेशी आरोहिले स्वास्थ्य अवस्था ठिक भएको प्रमाणपत्र, बिमासम्बन्धी प्रमाणपत्र बुझाउनुपर्ने र अनिवार्य रुपमा स्थानिय शेर्पा गाइड साथमा लानुपर्ने लगायत नियमहरु छन् । तर मंगोलियन आरोहि शेर्पा गाइडविना कसरी सगरमाथा आरोहणको लागि गए भन्ने प्रश्न उठाएको छ ।

आफुहरुले शेर्पा गाइडबिना सगरमाथा आरोहण नगर्न अनुरोध गरेपनि उनीहरुले नमानेको ८ के एक्सपेडिसनका अधिकारीले बताउँदै आएका छन् । यसबारे थप स्पष्टिकरण माग्न पर्यटक विभागले पत्र पठाइसकेको विभागका प्रवक्ता भुजेलले बताए ।

‘दुवै आरोहि जबरजस्ती गाइडविना सगरमाथा चढेको एजेन्सीको भनाई छ’ उनले भने, ‘तर हामीलाई त्यो भनाइले मात्र पुग्दैन । वास्तवमा भएको के हो ? यसबारे स्पष्टीकरण चाहियो भनेर हिजोमात्र एजेन्सीलाई पत्र पठाएका छौ । पत्रको जवाफ प्राप्त भइसकेको छैन । जवाफ पाएपछि के भएको प्रष्ट हुन्छ ।’

पर्यटन विभागले निगरानी एवम् सहजीकरणको लागि सगरमाथा आधारशिविरमा फिल्ड कार्यालयसमेत सञ्चालनमा ल्याएको छ । तर उक्त कार्यालयले सबैतिर प्रत्यक्ष निगरानी गर्न नसक्ने सम्बन्धित निकायका अधिकारीको भनाई छ ।

हाललाई सम्बन्धित एजेन्सीलाई कारबाहि गर्नेभन्दा सगरमाथाबाट शव ल्याउनु पहिलो प्राथमिकता भएको प्रवक्ता भुजेलले बताए । ‘सबै कागजात हेरेर, जवाफ पाएपछि मात्र कानुनी प्रक्रियाअनुसार कारबाहि उठान हुन्छ । यसबारे स्पष्ट कानुनी व्यवस्था छ । छैन लगायत विषय हेर्नुपर्छ’ उनले भने, ‘तत्काल एजेन्सीलाई कारबाहि गर्ने भन्दापनि सगरमाथाबाट उनीहरुको शव झार्नु पहिलो प्राथमिकता हो । अहिलेलाई दुर्घटना घटिसक्यो । जुन एजेन्सीमार्फत गएको हो शव झार्नै जिम्मा पनि उनीहरुकै हुन्छ । यसको प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ । बाँकी प्रक्रिया पछि हुन्छ ।’

उनकाअनुसार गाइडविना आरोहणमा निस्कनुमा एजेन्सी भन्दा दोषी विदेशी आरोहि नै हुन्छन् । नेपाली आरोहिलाई कानुनी बन्देजले रोक लगाउन सकेपनि विदेशी आरोहिलाई भने रोक्न मुस्किल हुन्छ । उनीहरुले स्वतन्त्रताको हक लगायत विषयलाई लिएर जबरजस्त ीआरोहणमा निस्कने गर्छन् । यसबारे स्पष्ट नीति समेत नहुँदा समस्या निस्कने गर्छ ।

यद्यपि, माथिल्लो उचाईमा ज्यान गुमाएका आरोहिको शव अलपत्र पर्न नदिन र शव झार्ने व्यवस्थासम्बन्धी सरकारले आरोहणसम्बन्धि केहि नयाँ नियम लागु गर्न लागेको पर्यटन विभागका अधिकारीको भनाई छ ।

शवको खोजी

८ के एक्सपेडिसनका अनुसार दुवै आरोहिले सगरमाथा आधार शिविरसम्मको लागि मात्र शुल्क तिरेका थिए भने आधार शिविरबाट वैशाख २८ गते सगरमाथा आरोहणका लागि निस्केका थिए । दुवैजना वैशाख ३० गते बिहान ९ बजे अन्तिम पटक चौथो आधार शिविर आसपास देखा परेका थिए । त्यसपछि उनीहरु सम्पर्कविहिन बनेका थिए ।

उनीहरुको खोजीका लागि ८के एक्सपेडिसनले आफ्नो उद्धार टोली फिल्डमा खटाएको थियो । जेठ २ गते साउथ समिट तल दुवै आरोहिको शव फेला परेको थियो । जेठ ४ मा उद्धारकर्मीले उसुख्जर्गेलको शव ८ हजार ७५० मिटर उचाईमा सिढिमा झुण्डिएको अवस्थामा फेला पारेका थिए भने भोलीपल्ट पुर्वासुरेनको शव ८ हजार ३ सय मिटर उचाईमा भीरमा फेला परेको थियो । सम्पर्कविहिन भएको सुचना पाएलगत्तै उनीहरुका आफन्त मंगोलियाबाट काठमाडौ आइपुगेका थिए ।

हाल दुवै आरोहिको शव झार्ने कोसिस भइरहेको ८ के एक्सपेडिसनका संस्थापक पेम्बा शेर्पाले बताए । ‘शव ल्याउन हाम्रो शेर्पाहरु फिल्डमा खटाइएको छ । शव फिर्ता ल्याइसकेको छैन, प्रक्रियामै छौ’ उनले भने, ‘शव फिर्ता ल्याउन कोसिस गर्ने हो । शव झार्न निकै कठिन छ । सकिन्छ या सकिदैन थाहा छैन ।’