गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा गोरखनाथ कल्याण केन्द्र, नेपाल र नेचुरल साउन्ड हिलिङ इन्टरनेसनल स्कुलको सहआयोजनामा सम्पन्न योग शिविर सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गोरखा जिल्ला अदालतका प्रमुख न्यायाधीश विष्णुप्रसाद गौतम, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर पुन, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरलगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आधुनिक जीवनशैलीका कारण बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा नसर्ने रोगहरूको नियन्त्रणमा योग प्रभावकारी माध्यम भएको बताए। योगलाई केवल शारीरिक अभ्यासका रूपमा नभई स्वस्थ, अनुशासित र सन्तुलित जीवन निर्माण गर्ने जीवनपद्धतिको रूपमा अपनाउनुपर्नेमा उनले जोड दिए।
उनले योगले शरीरसँगै मन, विचार र व्यवहारलाई समेत सकारात्मक दिशातर्फ उन्मुख गराउने उल्लेख गर्दै व्यस्त र प्रतिस्पर्धात्मक जीवनमा यसको महत्व अझ बढ्दै गएको बताए। साथै, जनस्वास्थ्य र सचेतनासँग सम्बन्धित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
शिविरमा योग प्रशिक्षक अशोक शर्मा भट्ट, शबनम खड्गी, अच्युतकृष्ण शरण तथा यलिस बन्जाराले हठयोग, प्राणायाम र साउन्ड हिलिङसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए। सहभागीहरूले विभिन्न योगासन, श्वास–प्रश्वास विधि तथा ध्वनि चिकित्सामार्फत मानसिक शान्ति र आन्तरिक सन्तुलन कायम गर्ने उपायबारे जानकारी प्राप्त गरेका थिए।
कार्यक्रममा गोरखनाथ कल्याण केन्द्र, नेपालका अच्युतकृष्ण शरणले नेपाल योग र अध्यात्मको प्राचीन भूमि भएको उल्लेख गर्दै गोरखालाई महायोगी गुरु गोरक्षनाथको साधना परम्परासँग जोडिएको महत्वपूर्ण आध्यात्मिक केन्द्रका रूपमा व्याख्या गरे। उनले गोरखालाई विश्व योग केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना अन्तर्गत केन्द्रले विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए।
शिविरमा सहभागीहरूले योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अनुभव साझा गर्दै यस्ता कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
आयोजकहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले स्वास्थ्य चेतना, सकारात्मक सोच र आध्यात्मिक जागरण प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
शिविरमा सरकारी कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो।
