विप्लव नेतृत्वको नेकपामा बढ्दो असन्तुष्टिः एक सातामै तीन पोलिटब्युरो सदस्यसहित दर्जनौँ नेता बाहिरिए

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) भित्रको आन्तरिक विवाद गहिरिँदै गएको देखिएको छ। संविधानसभा सदस्य तथा पार्टी सचिवालय सदस्य उमा भुजेल (शिलु) लाई सबै जिम्मेवारीबाट हटाइएको घटनापछि पार्टीभित्र असन्तुष्टि थप चर्किएको छ। यसैबीच तीन जना पोलिटब्युरो सदस्यसहित १५ भन्दा बढी केन्द्रीय तहका नेता तथा जिम्मेवार कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

यसअघि महासचिव विप्लवका निकट मानिने केन्द्रीय सदस्य चन्द्र खड्का ‘असल’ले पनि पार्टी छाडेका थिए। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेको केही घण्टापछि मात्रै पार्टी नेतृत्वले उनलाई जिम्मेवारीमुक्त गरिएको जानकारी गराएको थियो। त्यसयता पार्टीभित्रको असहमति खुला रूपमा सतहमा आउन थालेको छ।

पार्टी परित्याग गर्ने प्रमुख नेतामध्ये पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज भुसाल, पोलिटब्युरो सदस्य वसन्त श्रेष्ठ र पोलिटब्युरो सदस्य तथा समाजवादी मधेसी मुक्ति मोर्चाका केन्द्रीय संयोजक विनोद उपाध्याय रहेका छन्। उनीहरूले नेतृत्वले समीक्षा, आत्मसमीक्षा र वैचारिक बहसलाई अवरुद्ध गरेको, कम्युनिस्ट एकता तथा संयुक्त मोर्चाको नीतिबाट विचलित भएको र फरक मत राख्ने नेतामाथि कारबाहीको नीति अपनाएको आरोप लगाएका छन्।

तीन पोलिटब्युरो सदस्यको बहिर्गमनपछि शनिबार थप १२ जना केन्द्रीय सदस्य तथा पूर्वजिम्मेवार नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी र आफ्ना सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

पार्टी छाड्नेहरूमध्ये केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज यान्जिन मगर, पूर्व नवलपरासी जिल्ला इन्चार्ज कमल केसी, सिराहा जिल्ला इन्चार्ज जगत राउत, खिजिदेम्बा पूर्व जिल्ला इन्चार्ज गोपाल भौलन, तनहुँ जिल्ला इन्चार्ज निशान, गोरखा जिल्ला इन्चार्ज कृषित श्रेष्ठ, तामाङ मुक्ति मोर्चाका केन्द्रीय संयोजक पूर्णी लामा (ऐश्वर्य), पाल्पा जिल्ला इन्चार्ज दीपेश राना, ललितपुर जिल्ला इन्चार्ज गिरेन्द्र घिमिरे ९विपिन०, कपिलवस्तुका पूर्व जिल्ला इन्चार्ज हेमन्त चौधरी, दुवाकोटका पूर्व जिल्ला इन्चार्ज नवीन सुवेदी (विकास) तथा काठमाडौँ उपत्यकाका पूर्व जिल्ला सचिव रवि गौतम रहेका छन्।

उनीहरूले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र वैचारिक बहस र आलोचना-आत्मआलोचनाको परम्परा कमजोर बनाइएको, सुधारको आवाजलाई कारबाहीमार्फत दबाउने प्रयास गरिएको तथा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने ऐतिहासिक दायित्वबाट नेतृत्व पछि हटेको आरोप लगाएका छन्।

उमा भुजेललाई जिम्मेवारीमुक्त गरिएको घटनाबाट सुरु भएको विवाद अहिले सचिवालय, पोलिटब्युरो हुँदै केन्द्रीय समितिसम्म फैलिएको छ। पछिल्लो एक साताको अवधिमा केन्द्रीय सदस्य चन्द्र खड्का ‘असल’, तीन पोलिटब्युरो सदस्य र १२ जना केन्द्रीय तथा पूर्वजिम्मेवार नेताले पार्टी छाडिसकेका छन्।

पार्टीबाट बाहिरिने अधिकांश नेताहरूले नेतृत्वको कार्यशैली, वैचारिक बहसमाथिको नियन्त्रण, कम्युनिस्ट एकताको एजेन्डाबाट विचलन तथा फरक मतप्रति असहिष्णुतालाई आफ्नो निर्णयको मुख्य कारण बताएका छन्।

यस विषयमा महासचिव विप्लवले हालसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। तर शीर्ष तहका नेताहरूको लगातार बहिर्गमनले पार्टीभित्रको असन्तुष्टि केवल व्यक्तिगत मतभेदको परिणाम हो वा गम्भीर वैचारिक संकटको संकेत भन्ने प्रश्नलाई थप गम्भीर बनाएको छ।

करिब १४ वर्षअघि सुरु भएको राजनीतिक यात्राको उपलब्धि, सीमितता र भावी दिशाबारे उठिरहेका प्रश्नहरू अब विप्लव नेतृत्वको पार्टीभित्र मात्र सीमित नरही समग्र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमै बहसको विषय बन्न थालेका छन्।

सिफारिस