काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा तीनदिने पत्रकारिता तालिम सुरु भएको छ। मेलम्ची नगरपालिकाको सहयोग तथा नेत्रज्योति मिडिया हाउस प्रालिको आयोजनामा मेलम्चीस्थित होटल हेरिटेजमा तालिम सञ्चालन गरिएको हो।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी उपाध्यक्ष कान्ती न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै महासचिव दाहालले पत्रकारिता आफैंमा मर्यादित र जिम्मेवार पेशा भएको उल्लेख गर्दै यसलाई सही ढंगले प्रयोग गर्न सक्नुपर्ने बताए। उनले पत्रकारिता केवल समाचार लेख्ने कार्यमा सीमित नभई समाजप्रति उत्तरदायी भई सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्ने दायित्वसमेत भएको धारणा व्यक्त गरे। यस्ता तालिमले नयाँ पुस्तामा सकारात्मक सोच र व्यावसायिक सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
नेत्रज्योति मिडिया हाउसका सञ्चालक तथा उद्घाटन समारोहका सभापति नेत्रबहादुर बस्नेतले युवायुवतीहरूलाई अध्ययन पूरा गरेलगत्तै विदेश जाने सोचभन्दा स्वदेशमै अवसर खोज्न प्रेरित गर्दै पत्रकारितामा रुचि राख्नेहरूका लागि यो तालिम अत्यन्त उपयोगी रहेको बताए।
सभापति बस्नेतले डिजिटल युगमा सूचना तीव्र गतिमा फैलिने भए पनि सही र विश्वसनीय सूचना प्रवाह अझ महत्वपूर्ण भएको बताए। विद्यार्थीलाई प्रारम्भिक चरणमै पत्रकारिताको आधारभूत ज्ञान प्रदान गरी भविष्यका सक्षम सञ्चारकर्मी तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उनको भनाइ थियो। साथै तालिममा सहभागीमध्ये इच्छुक तथा योग्य व्यक्तिलाई मिडिया हाउसमा रोजगारीको अवसरसमेत प्रदान गरिने जानकारी दिए।
विशेष अतिथि कान्ती न्यौपानेले पत्रकारिता, सञ्चार माध्यम र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे जानकारी दिएकी थिइन्। तालिममा रामप्रसाद दाहाल, कान्ती न्यौपाने, युवराज पुरी, निशा देउजा तथा आइसिं तामाङ प्रशिक्षकका रूपमा रहेका छन्। कार्यक्रममा स्थानीय समाजसेवी सागर श्रेष्ठले यस्ता सीपमूलक तालिमसँगै रोजगारको अवसरसमेत प्रदान गर्ने पहल प्रशंसनीय रहेको बताए।
तीन दिनसम्म सञ्चालन हुने तालिममा माध्यमिक तहमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। तालिममार्फत पत्रकारिताको आधारभूत ज्ञान, समाचार लेखन सीप, अन्तर्वार्ता कला, रिपोर्टिङ, सञ्चार नैतिकता तथा जिम्मेवार सूचना प्रवाहसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ।
कार्यक्रमले युवापुस्तालाई सञ्चार क्षेत्रप्रति आकर्षित गर्नुका साथै सचेत, जिम्मेवार र सूचनामैत्री नागरिक निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

