काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयमा राजावादी मतदाताको समेत महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन्।
भरतपुरमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई शुभकामना दिँदै लिङ्देनले रास्वपाले प्राप्त गरेको जनमत केवल परम्परागत दलप्रतिको असन्तुष्टिको परिणाम मात्र नभई परिवर्तन खोज्ने विभिन्न धारका मतदाताको समर्थनबाट सम्भव भएको बताएका हुन्।
सम्बोधनका क्रममा उनले विशेषगरी बालेन्द्र शाह (बालेन) लाई संकेत गर्दै “बालेनले राजा ल्याउँछ भनेर पनि जनताले भोट दिएका हुन्” भन्ने अभिव्यक्ति दिए । लिङ्देनले रास्वपाको उदयलाई नेपालको परम्परागत राजनीतिक शक्तिप्रति बढ्दो असन्तुष्टिको परिणामका रूपमा व्याख्या गर्दै नयाँ शक्तिहरूले जनअपेक्षा पूरा गर्नुपर्ने चुनौती रहेको पनि बताएका छन्। उनले वैकल्पिक राजनीतिक शक्तिहरूले सुशासन, पारदर्शिता र जनविश्वास कायम गर्न सके मात्र आफ्नो औचित्य पुष्टि हुने धारणा राखेका थिए।
रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन्। महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
राप्रपाले लामो समयदेखि संवैधानिक राजसंस्था पुनर्स्थापनाको एजेन्डा उठाउँदै आएको छ।