काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने र बरिष्ट नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् ।
पार्टी स्थापना भएको चार वर्ष नपुग्दै पहिलो पटक सुरु भएको राष्ट्रिय स्तरको महाधिवेशन असार ७, ८ र ९ गतेसम्म सञ्चालन हुनेछ। रास्वपाले देशभर वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय महाधिवेशनको आयोजना गरेको हो। पार्टीका अनुसार महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ। यस अधिवेशनले आगामी कार्यकालका लागि केन्द्रीय नेतृत्व चयन गर्नुका साथै पार्टीको वैचारिक, संगठनात्मक तथा राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशनको आयोजना भरतपुरस्थित चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा गरिएको छ। प्रारम्भमा तय गरिएको स्थान परिवर्तन गर्दै पार्टीले प्रदर्शनी केन्द्रलाई अन्तिम स्थलको रूपमा छनोट गरेको थियो। रास्वपाले यस महाधिवेशनलाई “सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिक संस्कार निर्माण” को अभियानसँग जोडेको जनाएको छ। पार्टीको आधिकारिक महाधिवेशन पोर्टलमा पनि सक्षम, इमानदार र नीतिगत नेतृत्व चयनमार्फत संगठनलाई थप सुदृढ बनाउने सन्देश दिइएको छ।
महाधिवेशनले सभापतिदेखि केन्द्रीय समितिसम्मको नयाँ नेतृत्व चयन गर्ने, पार्टीको विधान संशोधन, राजनीतिक प्रतिवेदन तथा भावी रणनीतिमाथि छलफल गर्ने कार्यक्रम रहेको छ। यसलाई रास्वपाको संगठनात्मक विकासको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। चितवनमा आयोजित यस महाधिवेशनले स्थानीय पर्यटन, होटल व्यवसाय तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। भरतपुरमा हजारौं प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिको आगमनसँगै आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीलाई आन्दोलनमुखी संरचनाबाट संस्थागत राजनीतिक दलको रूपमा रूपान्तरण गर्ने आधार तयार गर्नेछ। साथै, आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाबारे स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।