काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको असाधारण जनमतलाई अहंकार र शक्ति दुरुपयोगतर्फ नलगी सुशासन, लोकतान्त्रिक मूल्य र संविधानको मर्मअनुसार प्रयोग गर्नुपर्ने बताएका छन्। भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टी स्थापना भएको चार वर्षमै रास्वपाले हासिल गरेको जनसमर्थन उल्लेखनीय रहेको भन्दै त्यसको प्रशंसा गरे।
उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वको पनि सराहना गर्दै महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे। थापाले नेपालको राजनीतिक इतिहासमा नयाँ जनमत प्राप्त गरेका दलहरू पटक–पटक आन्तरिक अहंकार र अप्रजातान्त्रिक व्यवहारका कारण दुर्घटनामा परेको स्मरण गराउँदै रास्वपालाई त्यस्ता गल्ती नदोहोर्याउन आग्रह गरे।
‘जनमतले दिएको शक्ति सीमित हुन्छ भन्ने बुझ्न नसक्दा र सत्ताको उन्मादमा लोकतान्त्रिक आचरण बिर्सँदा धेरै राजनीतिक शक्तिहरू असफल भएका छन्,’ उनले भने। उनले रास्वपाको सफलता केवल सो पार्टीको मात्र नभई समग्र लोकतान्त्रिक प्रणाली र देशको स्थिरतासँग जोडिएको विषय भएको उल्लेख गरे। ‘कुनै नयाँ शक्ति असफल हुँदा त्यसको असर त्यो पार्टीमा मात्र होइन, प्रणाली र नागरिकमाथि पनि पर्छ,’ उनले भने।
कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा भए पनि दुश्मनी नरहेको स्पष्ट पार्दै थापाले आफ्नो पार्टी इमानदार प्रतिस्पर्धामा विश्वास गर्ने बताए। ‘हामी तपाईंहरूलाई कमजोर बनाएर होइन, आफूलाई सुधारेर अगाडि बढ्न चाहन्छौँ,’ उनले भने।
प्रतिपक्षको भूमिकाबारे बोल्दै थापाले सरकारले गल्ती गर्दा कांग्रेसले प्रश्न उठाउने, तर सही काममा साथ दिने नीति अपनाएको बताए। कानुनको शासन, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा कांग्रेस सधैं उभिने उनको भनाइ थियो।
सम्बोधनका क्रममा थापाले नेपाली कांग्रेसले विगतमा गरेका कमजोरीहरू पनि स्वीकार गरे। निर्वाचन जित्ने र सत्तामा पुग्ने उद्देश्यमा केन्द्रित हुँदा जनअपेक्षाअनुसार काम गर्न नसकिएको स्वीकार गर्दै उनले आफ्नै पार्टीभित्र सुधारका लागि संघर्ष गरिरहेको बताए।
रास्वपाका नेता तथा कार्यकर्तालाई आफ्नै नेतृत्वमाथि पनि प्रश्न उठाउने साहस राख्न आग्रह गर्दै उनले भने, ‘हामीले आफ्ना नेताहरूलाई भगवान् बनाएर गल्ती गरिसक्यौँ। तपाईंहरूले त्यो गल्ती नदोहोर्याउनुहोस्।’
थापाले लोकतन्त्रका लागि भएका ऐतिहासिक संघर्ष र बलिदानलाई नबिर्सन पनि रास्वपालाई आग्रह गरे। चितवनको भूमिमा लोकतन्त्रका लागि ज्यान गुमाएका सहिदहरूको स्मरण गर्दै उनले वर्तमान राजनीतिक उपलब्धि ती बलिदानकै परिणाम भएको बताए।
अन्त्यमा उनले गरीबी, अज्ञानता, विभेद र अक्षमतालाई नेपालको वास्तविक दुश्मनको रूपमा चित्रित गर्दै ती समस्याविरुद्ध रास्वपाले संघर्ष गर्दा कांग्रेसले सहयोग गर्ने बताए। साथै, विधि र संविधान मिचिने अवस्थामा भने कांग्रेसले सशक्त रूपमा प्रश्न उठाइरहने उनको भनाइ थियो।
‘संविधान र व्यवस्थालाई जोगाउँदै देशको अवस्था बदल्ने साझा लक्ष्यमा सबै लोकतान्त्रिक शक्तिहरू सफल हुनेछन् भन्ने विश्वासका साथ रास्वपाको महाधिवेशनलाई हार्दिक शुभकामना व्यक्त गर्दछु,’ थापाले भने।