काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुशासन र पारदर्शिताको अभियानमा कुनै सम्झौता नगर्ने बताएका छन्। आइतबार रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार तथा सरकारी सम्पत्तिको दुरुपयोगमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।
शाहले आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पाँच घण्टा मात्र होइन, पाँच वर्षसम्म पनि परामर्श गर्न तयार रहेको बताए। उनले आफूहरू नियम र कानुनको सीमाभित्र रहेर काम गरिरहेको उल्लेख गर्दै बाहिरबाट हेर्दा केही गतिविधि अनियन्त्रित देखिए पनि सबै काम व्यवस्थित र नियन्त्रणमै रहेको दाबी गरे।
उनका अनुसार विगतमा सरकारी स्रोत-साधनको दुरुपयोग भएको प्रमाणित भए सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गरिनेछ। रास्वपा प्रतिशोधको राजनीति गर्ने पार्टी नभएको उल्लेख गर्दै उनले सुशासन स्थापना र सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए।
पार्टीको वर्तमान अवस्थाबारे बोल्दै शाहले रास्वपालाई ‘लोकल गाडी’ नभई ‘हाइवेमा गुडिरहेको गाडी’ को संज्ञा दिए। पार्टीको यात्राबारे उठाइएका आशंकाप्रति प्रतिक्रिया जनाउँदै उनले गन्तव्यमा नपुगेसम्म पार्टीको गति नरोकिने बताए। ‘हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ,’ उनले भने, ‘हाम्रो यात्राबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’
सीमासम्बन्धी विषयमा आफ्नो धारणा स्पष्ट पार्दै शाहले नेपालको राष्ट्रियताप्रति शंका गर्नुपर्ने कुनै कारण नभएको बताए। ‘हामीले सीमाको विषयमा ब्रिटिसलाई मध्यस्थता गराउने भनेका होइनौँ। मेरो राष्ट्रियतामाथि प्रश्न उठाउन आवश्यक छैन,’ उनले भने।
पार्टीभित्र गुट–उपगुटको चर्चा भइरहेका बेला शाहले नेता बन्न जनताको विश्वास, आस्था र माया जित्नुपर्नेमा जोड दिए। कुनै एक समूहको समर्थनमा सीमित हुन नहुने भन्दै उनले समूहबन्दीको राजनीति नगर्न कार्यकर्तालाई आग्रह गरे। उनले वर्तमान कार्यकालमै सुशासन स्थापना गर्ने, सहकारीलगायतका जटिल समस्याको समाधान खोज्ने र आगामी निर्वाचनमा नयाँ एजेन्डासहित जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरे।
‘रास्वपा विकास र काममा विश्वास गर्ने पार्टी हो। हामी विगतका विषयमा अनावश्यक विवाद खोज्ने पक्षमा छैनौँ। तर जहाँ सरकारी रकमको दुरुपयोग, अनियमितता वा बदमासी भएको छ, त्यहाँ कानुनअनुसार कारबाहीको पहल अवश्य गर्छौँ,’ शाहले भने।