देश रास्वपाको हातमा सुरक्षित छ, प्रतिशोध होइन सहकार्यको राजनीति गर्छौंः रवि लामिछाने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उदाएको दाबी गर्दै प्रतिशोध र दम्भको राजनीति नभई नागरिक जिम्मेवारी पूरा गर्ने जनमत बोकेर अघि बढ्ने बताएका छन्।

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै उनले रास्वपाले लोकतन्त्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शक्ति पृथकीकरण, मानव अधिकार र समावेशिताजस्ता स्थापित राजनीतिक उपलब्धिहरूको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘निर्धक्क हुनुहोस्, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ,’ उनले भने, ‘अघिल्लो पुस्ता र राजनीतिक नेतृत्वले दिएका लोकतान्त्रिक उपलब्धिहरूको हामी जगेर्ना गर्नेछौँ, तिनको तिरस्कार गर्ने छैनौँ।’

लामिछानेले राष्ट्रिय राजनीतिमा एउटा दल मात्र सबल भएर नहुने भन्दै प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्याहरू समाधान हुनुपर्ने धारणा राखे। ती दलका समस्याहरू देशकै समस्या बन्न सक्ने उल्लेख गर्दै उनले सबै दललाई सुदृढ र जिम्मेवार बन्न शुभकामना दिए।

उनले राजनीतिक दलहरूबीचको वैमनस्यता अन्त्य गरेर सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिए। ‘हामीले एकअर्कालाई होइन, इतिहासलाई जवाफ दिनुपर्छ,’ उनले भने, ‘व्यक्तिगत अहंकार र द्वन्द्व त्यागेर राष्ट्रिय हितका लागि मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ।’

पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न नेताकार्यकर्तालाई सचेत गराउँदै लामिछानेले रास्वपा आफ्नै कमजोरीका कारण मात्र कमजोर हुन सक्ने बताए। ‘रास्वपा लड्छ भने आफ्नै घोडामा अल्झेर लड्छ, अरू कसैको ताकत छैन,’ उनले स्मरण गराए।

महाधिवेशनलाई पार्टीभित्र रहेका सम्भावित असमझदारी अन्त्य गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले स्वस्थ प्रतिस्पर्धा, त्याग र अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताए। पदका लागि अस्वस्थ प्रतिस्पर्धा, षड्यन्त्र र गुटबन्दीले पार्टीको भविष्य कमजोर बनाउने चेतावनी पनि उनले दिए।

सरकार सञ्चालनका विषयमा बोल्दै लामिछानेले निर्वाचनअघि गरिएको सहमति अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याए। सरकार जनताले दिएको आशा र भरोसामा खरो उत्रिने विश्वास व्यक्त गर्दै उनले विभिन्न अवरोध र चुनौतीका बाबजुद सहमति र जिम्मेवारीबाट पछि नहट्ने बताए।

पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले रास्वपाको सफलता कुनै एक व्यक्तिको नभई सम्पूर्ण सदस्य र समर्थकहरूको योगदानको परिणाम भएको बताए। ‘जसले जिते पनि घण्टी वाहकले जित्छ, जसले जिते पनि रास्वपाले जित्छ,’ उनले भने।

सम्बोधनको अन्त्यमा लामिछानेले आफ्नो राजनीतिक यात्रामा साथ दिने परिवारप्रति आभार व्यक्त गर्दै पार्टीलाई यहाँसम्म पुर्‍याउने सम्पूर्ण श्रेय कार्यकर्ता र समर्थकहरूलाई दिए। उनले प्रथम महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

सिफारिस