विश्व पौडेल बने राष्ट्र बैँकको नयाँ गभर्नर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । राष्ट्र बैङ्कमा डेढ महिनापछि गभर्नर पद रिक्त छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।

प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नरको रूपमा नियुक्त गर्ने सहमति भएको थियो । यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

यो बिचमा गभर्नरको सम्भावित उम्मेदवारहरूमा एक दर्जन बढीको नाम चर्चामा थियो । पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।

तीमध्ये कुनै पनि नाममा सहमति जुट्न नसकेपछि देउवाले सिफारिस समितिमा रहेका पौडेललाई वैकल्पिक उम्मेदवारको रूपमा अघि सारेका थिए । सत्ता साझेदार दलको लामो माथापच्चीपछि अन्ततः गभर्नर नियुक्ति हुन सकेको हो ।

सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।