दीपा नेपालीमाथि छुवाछुतजन्य व्यवहार गर्ने प्रतिवादीविरुद्ध अभियोगपत्र दर्ता, संग्रामसहित ६ जना ‘फरार’

दियोपोस्ट संवाददाता  

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिका-९ स्थित नगाउँमा डेरा गरी बस्ने  क्रममा कैलालीकी दीपा कुमारी नेपालीमाथि जातीय आधारमा अपमान, दुर्व्यवहार तथा छुवाछुतजन्य व्यवहार गरेको भन्दै ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दायर गर्दै प्रतिवादीहरूलाई जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अन्तर्गत कारबाही गर्न माग गरेको हो।

अभियोगपत्रअनुसार कीर्तिपुर-९ निवासी कन्या महर्जन, प्रविण महर्जन, मञ्जली महर्जन, सादुराम महर्जन, ‘हुनर साम्यवादी’ भनिने हरिशचन्द्र संग्राम सार्की र तेजेन्द्र सार्कीविरुद्ध मुद्दा दायर गरिएको छ। तीमध्ये केही प्रतिवादी हालसम्म फरार रहेको अभियोगपत्रमा उल्लेख छ।

पीडित नेपाली कीर्तिपुर-९ स्थित कन्या महर्जनको घरमा डेरा गरी बस्दै आएकी थिइन्। २०८२ साल माघ १७, १८ र १९ गते तथा चैत २४ र २५ गते कोठामा बस्ने क्रममा घरधनी र उनका आफन्तसहित अन्य व्यक्तिहरूले जातीय आधारमा अपमानजनक शब्द प्रयोग गर्दै सार्वजनिक रूपमा होच्याउने, चरित्रहत्या गर्ने, सामाजिक सद्भाव खल्बल्याउने र मानसिक पीडा दिने खालका गतिविधि गरेको भन्दै दीपाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

दलित भएकै कारण आफुलाई लक्षित गर्दै निरन्तर अपमानजनक व्यवहार गरिएको भन्दै उनले कानुनी कारबाहीको माग समेत गरेकी थिइन् । प्रहरी अनुसन्धानका क्रममा घटनास्थल मुचुल्का तयार गरिएको र मुचुल्कामा पीडित बस्दै आएको कोठा तथा घटनास्थलको अवस्था उल्लेख गर्दै सोही स्थानमा जातीय विभेदजन्य व्यवहार भएको पुष्टि गरिएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूले घटनास्थल निरीक्षणसँगै विभिन्न व्यक्तिहरूको बयानसमेत संकलन गरेका थिए।

अनुसन्धानका क्रममा साक्षी दिनेश बहादुर नेपालीले पीडितले आफूलाई देखाएको भिडियो तथा घटनापछि आफूले थाहा पाएका विवरणका आधारमा प्रतिवादीहरूले जातीय रूपमा अपमानजनक व्यवहार गरेको बयान दिएका छन्। उनका अनुसार वडा कार्यालयमा भएको छलफलका क्रममा समेत पीडितलाई जातीय रूपमा होच्याउने शब्द प्रयोग गरिएको र मानसिक यातना दिइएको थियो।

त्यस्तै, अर्का साक्षी पुष्प विश्वकर्माले पनि घटनापछि पीडितसँग भेटेर भिडियो हेरेको र जातीय विभेद भएको विषयमा जानकारी पाएको बयान दिएका छन्। उनले पनि वडा कार्यालयमा भएको छलफलका क्रममा पीडितमाथि पुनः जातीय आधारमा अपमानजनक व्यवहार भएको सुनेको तथा त्यसबारे पीडितबाट जानकारी पाएको उल्लेख गरेका छन्। अनुसन्धानमा सुमन बुढामगरको बयानले समेत सोही विषयलाई समर्थन गरेको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रमा अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रतिवादीहरूले पीडितलाई ‘दलितको नाममा मुद्दा लड्दै डलर कमाउँदै हिँड्ने’ लगायतका जातीय रूपमा होच्याउने अभिव्यक्ति प्रयोग गरेको, मानसिक रूपमा यातना दिएको तथा जातीय पहिचानकै आधारमा कोठा खाली गर्न दबाब दिएको उल्लेख गरिएको छ। घरधनीले कोठा खाली गर्न सूचना टाँस गरेको विषयलाई समेत अभियोजन पक्षले घटनालाई पुष्टि गर्ने थप आधारका रूपमा प्रस्तुत गरेको छ।

सरकारी वकिलको निष्कर्षअनुसार कन्या महर्जन, प्रविण महर्जन, मञ्जली महर्जन र सादुराम महर्जनको कार्य जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ अन्तर्गतको कसूर पुष्टि हुने पर्याप्त आधार देखिएको उल्लेख छ। हरिशचन्द्र सार्की र तेजेन्द्र सार्कीले भने उक्त कसूर गर्न सहयोग गरेको देखिएकाले उनीहरूमाथि सहयोगी कसूरको अभियोग लगाइएको छ।

सरकारी वकिल कार्यालयले अदालतसँग मुख्य प्रतिवादीहरूलाई कानुनबमोजिम कैद र जरिवाना सजाय गर्न, पीडितलाई ऐनको दफा ९ बमोजिम मनासिब क्षतिपूर्ति दिलाउन तथा फरार रहेका सबै प्रतिवादीका नाममा पक्राउ पुर्जी जारी गर्न समेत माग गरेको छ। अभियोगपत्रमा कसूर पुष्टि भए पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्था रहेको पनि उल्लेख गरिएको छ।

अभियोगपत्रमा यस मुद्दाको सुनुवाइका क्रममा थप संलग्न व्यक्तिहरू खुलेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अभियोगसमेत दायर गर्न सकिने उल्लेख गरिएको छ। सरकारी वकिल कार्यालयले दिपा कुमारी नेपाली, दिनेश बहादुर नेपाली, पुष्प विश्वकर्मा र सुमन बुढामगरलाई मुख्य गवाहका रूपमा प्रस्तुत गर्दै घटनासम्बन्धी भिडियो रहेको पेनड्राइभसहित विभिन्न कागजात अदालतमा प्रमाणका रूपमा पेश गरेको जनाएको छ।

सिफारिस