कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा हतार नगरिएको शिक्षा मन्त्री पोखरेलको स्पष्टोक्ति, छानबिन समिति गठन

दियोपोस्ट संवाददाता  

काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियाबारे मन्त्रालय स्पष्ट र विश्वस्त रहेको बताएका छन्। उनले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको बरु आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याएर निर्धारित समयमै नतिजा सार्वजनिक गरिएको स्पष्ट पारे।

मन्त्री पोखरेलले यस विषयमा आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेको उल्लेख गर्दै नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गरिएको बताए। उनले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा आफ्ना धारणा राख्दै आन्दोलन गरिरहेका विद्यार्थी तथा सरोकारवालाप्रति सम्मान व्यक्त गरे। लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्ने उनको भनाइ छ।

यसैबीच, सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आन्दोलनरत विद्यार्थीहरूप्रति गरिएका नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति मन्त्री पोखरेलले ध्यानाकर्षण भएको बताएका छन्। उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज तथा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गरेका छन्।

नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र गुनासोहरूको अध्ययन तथा परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिए। उक्त समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको परीक्षण र प्रमाणीकरण गर्नेछ।

सिफारिस