काठमाडौं । झापाको दमक नगरपालिका-९ स्थित पूर्णिमा टोलकी पञ्च गजमेरमाथि जातीय गालीगलौज गर्दै कुटपिट गरेको र त्यसक्रममा उनको हात भाँचिएको घटना सार्वजनिक भएको छ। स्थानीय कुँवर थरकी एक महिलाले गजमेरमाथि संघातिक आक्रमण गरि हात भाँचिदिएको आरोप लागेका हो ।
पीडित पक्षका अनुसार घटनामा संलग्न भनिएकी ति महिलालाई प्रहरीले पक्राउ गरे पनि पछि रिहा गरिएको छ। घटनापछि कानुनी प्रक्रिया प्रभावकारी रूपमा अगाडि नबढाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
पीडित पक्षले हालसम्म उपचार खर्चसमेत उपलब्ध नगराइएको र आरोपितमाथि आवश्यक कानुनी कारबाही नभएकाले न्याय प्राप्त गर्न कठिनाइ भइरहेको दाबी गरेको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न, साथै पीडितलाई उचित क्षतिपूर्ति र उपचार खर्च उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।
नेपालको प्रचलित कानुनअनुसार जातीय भेदभाव, छुवाछूत तथा जातीय अपमानजनक व्यवहार दण्डनीय अपराध मानिन्छ। मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले यस्ता घटनामा संवेदनशील ढंगले अनुसन्धान गरी पीडितलाई शीघ्र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
जातीय विभेद र हिंसा कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य हुने भन्दै दोषीमाथि कानुनी कारबाही र पीडितलाई न्याय दिलाउनु राज्यको दायित्व रहेको सरोकारवालाहरूको भनाइ छ।