समावेशी समाजको सन्देश दिन असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना गरिने

दियोपोस्ट संवाददाता  

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हकअधिकारका क्षेत्रमा सक्रिय संस्थाहरूले ‘समावेशिता, विविधता र सद्भावका बीउ रोपौँ’ भन्ने मूल नारासहित असार १५ गते ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना गर्ने भएका छन्।

नेपालमा असार १५ लाई कृषि, संस्कृति र सामुदायिक एकताको पर्वका रूपमा मनाउने परम्परा रहिआएको छ। विशेषगरी काठमाडौं उपत्यकामा रोपाइँ जात्राका अवसरमा पुरुषले महिलाको र महिलाले पुरुषको भेष धारण गर्ने चलनले सामाजिक सद्भाव, मनोरञ्जन, सांस्कृतिक अभिव्यक्ति र सामुदायिक सहभागितालाई थप जीवन्त बनाउँदै आएको मानिन्छ।

आयोजकका अनुसार यही सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै स्थानीय संस्कृति, परम्परा र सामाजिक मूल्यहरूको सम्मानका साथ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई नेपालको मौलिक सांस्कृतिक अभ्याससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममार्फत विविध समुदायबीच सहअस्तित्व, समावेशिता, पारस्परिक सम्मान र सामाजिक सद्भावको सन्देश प्रवाह गरिने जनाइएको छ।

कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य, स्थानीय बासिन्दा, जनप्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, सञ्चारकर्मी तथा अन्य सरोकारवालासहित करिब ८० देखि १०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकले यस कार्यक्रमले नेपालको कृषि परम्परा र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्नुका साथै भविष्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने सांस्कृतिक उत्सवका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्।

ललितपुर महानगरपालिकाको अनुमति तथा सहयोगमा आयोजना हुने यो कार्यक्रम असार १५ गते ९२९ जुन २०२६० दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म ललितपुर महानगरपालिका–१२ स्थित पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर अगाडि सञ्चालन हुनेछ।

कार्यक्रममा परम्परागत रोपाइँ जात्रा, सांस्कृतिक प्रस्तुति, दही-चिउरा वितरण तथा सामूहिक उत्सवका विभिन्न गतिविधि समावेश गरिनेछ। आयोजकले सम्पूर्ण समुदाय, साझेदार संस्था, शुभेच्छुक तथा इच्छुक सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। साथै स्थानीय सरकारसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले विशिष्ट अतिथि तथा सरोकारवालालाई उद्घाटन समारोह र शुभकामना मन्तव्यका लागि समेत आमन्त्रण गरिएको जनाएको छ।

‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ को संयुक्त आयोजना मायाको पहिचान नेपाल, लिड नेपाल र इन्क्लुसिभ फोरम नेपालले गरेका हुन्। कार्यक्रममा एक्सनएड नेपाल र डाकिनी हस्पिटालिटीले सहयोग गर्नेछन्।

यो ‘इन्द्रेणी रोपाइँ जात्रा’ औपचारिक रूपमा आयोजना हुन लागेको तेस्रो संस्करण हो। यसअघि बौद्ध क्षेत्रमा आयोजना हुँदै आएको यो कार्यक्रम यस वर्ष पहिलो पटक पाटन दरबार क्षेत्रमा हुन लागेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार स्थानीय सरकार, समुदाय र विभिन्न सरोकारवालाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै समावेशी समाज निर्माणप्रतिको साझा प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सहभागी सबैको गरिमामय उपस्थितिले कार्यक्रमको महत्त्व अझ बढाउने विश्वास पनि आयोजकले व्यक्त गरेका छन्।

सिफारिस