
Karma Tsering Sherpa, presidential of All Nepal Football Association (Anfa). POST PHOTO: KESHAV THAPA
काठमाडौं । काठमाडौंको चर्चित शैक्षिक संस्था टूङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका कार्यकारी प्रमुख कर्मा छिरिङ शेर्पा ८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना, ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.का अनुसार, टूङ्गरम इन्टरनेसनल एकेडेमीका तर्फबाट अख्तियारप्राप्त राम चन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा शेर्पामाथि अनुसन्धान सुरु गरिएको थियो।
एकल हस्ताक्षरबाट बैंक खाता सञ्चालन गर्ने जिम्मेवारी पाएका शेर्पाले आफ्नो पदीय दुरुपयोग गर्दै विद्यालयको स्वामित्वमा रहेको ठूलो परिमाणको सम्पत्ति हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ। उनले डर, त्रास र अनुचित प्रभावमा पारी विद्यालयको कुल रु. ८,७८,३०,८०२– (आठ करोड अठहत्तर लाख तीस हजार आठ सय दुई रुपैयाँ) हिनामिना गरेका छन्।
विज्ञप्ति अनुसार शेर्पाले विद्यालयको नाममा भक्तपुर जिल्लाको दधिकोट गा.वि.स. वडा नं. २ मा रहेको करिब २९–४–२–१ (उन्नाइस रोपनी चार आना दुई पैसा एक दाम) जग्गा आफू सम्बद्ध कम्पनीहरूलाई बिक्री गरेका थिए। यसका साथै, विद्यालयका लागि सवारी साधन खरिद गर्ने प्रयोजनका लागि छुट्ट्याइएको रकमबाट उनले व्यक्तिगत तथा आफ्ना अन्य कम्पनीको नाममा जग्गा र गाडीहरू खरिद गरी विद्यालयलाई ठूलो नोक्सानी पु¥याएका छन्।
आफ्नो जिम्मेवारीमा रहेको विद्यालयको रकम हिनामिना गरी व्यक्तिगत लाभ लिएको भन्दै उनीविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसूरमा मुद्दा दर्ता गरिएको थियो।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएलगत्तै ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं, बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ गणेशचोक बस्ने ५४ वर्षीय कर्मा छिरिङ शेर्पालाई आजै (असार १२ गते) नियन्त्रणमा लिएको हो।
सीआइबी उच्च स्रोतका अनुसार शेर्पा विरुद्ध २ वर्षदेखि रोकिएको अनुसन्धान सीआइबीले हाल शुरु गरेको हो ।