१५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण, समकालीन साहित्यिक बहसको केन्द्र बन्यो

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक तथा १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्याय को कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न समारोह केवल पुस्तक विमोचनमा सीमित नरही समकालीन नेपाली साहित्यको भावधारामाथि गम्भीर विमर्श र संवेदनशील संवादको सशक्त मञ्चका रूपमा स्थापित भएको थियो ।

सभाहलमा साहित्यकार, राजनीतिज्ञ, इतिहासविद्, गीतकार, कलाकार तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको थियो । कार्यक्रममा साहित्यप्रतिको सम्मान, सिर्जनाप्रतिको अनुराग र समाजप्रतिको उत्तरदायित्व स्पष्ट रूपमा झल्किएको थियो ।

समारोहका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली रहेका थिए भने प्रमुख अतिथि सांसद राजीव खत्री थिए । कार्यक्रममा पूर्वसांसद तथा कवि रेखा यादव, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार प्रा। पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, पूर्वअध्यक्ष चूडामणि देवकोटा, खनाल सेवा समाजका महासचिव माधव खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय सदस्य तारा उप्रेति, मिलापका अध्यक्ष कृष्ण भुसाल तथा नरेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

उनीहरूले सामूहिक रूपमा कृतिको लोकार्पण गर्दै ‘अन्तस्करण’लाई समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजका रूपमा व्याख्या गरेका थिए । वक्ताहरूका अनुसार डा। उपाध्यायले यस कृतिमार्फत समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता, सामाजिक यथार्थ, प्रेम, संघर्ष, आशा, आत्मसंवाद तथा जीवनका सूक्ष्म अनुभूतिहरूलाई कलात्मक र संवेदनशील ढंगले प्रस्तुत गरेका छन् ।

प्रमुख अतिथि सांसद राजीव खत्रीले डा. उपाध्याय नेपाली साहित्य, संगीत र सिर्जनात्मक क्षेत्रका अथक साधक भएको उल्लेख गर्दै भने, “डा.उपाध्यायको लेखन केवल शब्दहरूको संयोजन होइन, समाजप्रतिको जिम्मेवारीबोध र मानवीय चेतनाको गहिरो अभिव्यक्ति हो ।” उनले संग्रहभित्रको एक कविता वाचन गर्दा सभाहल साहित्यिक भावनाले मन्त्रमुग्ध बनेको थियो ।

समारोहमा अधिकांश वक्ताहरूले डा. उपाध्यायको बहुआयामिक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । १५३ विश्व कीर्तिमानमार्फत उनले नेपालको सिर्जनात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको उल्लेख गर्दै उनलाई नेपाली सर्जनात्मक क्षेत्रको ऊर्जाशील, अनुकरणीय र प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गरिएको थियो ।

कवितासंग्रहको भावभूमिलाई थप जीवन्त बनाउन कविद्वय सुमन थापा संगम र शोभा अधिकारी ले संग्रहबाट कविता वाचन गरेका थिए । कविता वाचनका क्रममा उपस्थित श्रोताहरू भावुक र गम्भीर बनेका थिए ।

कार्यक्रममा ‘अन्तस्करण’को भूमिका लेख्ने प्रा. पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल तथा स्रष्टा डा. डीआर उपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै प्रमुख अतिथि सांसद राजीव खत्रीलाई पनि बधाई तथा सम्मान अर्पण गरिएको थियो ।

आफ्नो मन्तव्यमा डा। डीआर उपाध्यायले साहित्यलाई आत्माको आवाज भएको बताए । उनले ‘अन्तस्करण’ आफ्ना अनुभूति, भोगाइ, संघर्ष र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको उल्लेख गर्दै सिर्जनाले मानिसलाई अझ मानवीय बनाउने विश्वास व्यक्त गरे ।

समापन मन्तव्यमा सभाध्यक्ष राधेश्याम लेकालीले डा। उपाध्यायको व्यक्तित्व र कृतित्व नेपाली साहित्यका लागि महत्वपूर्ण प्रेरणाको स्रोत भएको बताए । उनले ‘अन्तस्करण’ नेपाली कविताको समकालीन यात्रामा अर्थपूर्ण कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

मिलाप पब्लिकेशनद्वारा प्रकाशित २९९ पृष्ठको यस कवितासंग्रहमा ७९ वटा कविता समावेश छन् । जीवन, समाज, समय र संवेदनाको गहिरो संवाद बोकेको ‘अन्तस्करण’ले नेपाली पाठकमाझ नयाँ चेतना, आत्मअनुभूति र साहित्यिक बहसको वातावरण सिर्जना गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

डा.उपाध्यायका यसअघि १७ उपन्यास, तीन गीति पुस्तक, करिब २५० गीत तथा १५० भन्दा बढी गीतका भिडियो सार्वजनिक भइसकेका छन् । गीतसंगीत र विविध विधामा उनले १५३ विश्व कीर्तिमान कायम गरेका छन् । मिलापका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा करिब एक सय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सिफारिस