प्रलेसको साहित्यिक विचारगोष्ठी काठमाडौँमा सम्पन्न, प्रगतिशील साहित्यलाई युगीन परिवर्तनसँग जोड्नुपर्ने माग

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रगतिशील लेखक सङ्घ (प्रलेस)को आयोजनामा राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि खनालले आफ्नै ‘महाविष्फोट’ शीर्षकको कविता वाचन गरेर गरेका थिए। उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै उनले साहित्यलाई त्यसको युगीन चरित्र र सामाजिक–राजनीतिक सन्दर्भका आधारमा बुझ्नुपर्ने धारणा राखे।

नेता खनालले नेपालमा २०६२–६३ सालको राजनीतिक परिवर्तनलाई उल्लेख गर्दै उक्त परिवर्तनलाई पुँजीवादी प्रकृतिको क्रान्तिका रूपमा व्याख्या गरे। उनका अनुसार त्यो परिवर्तन नयाँ जनवादी क्रान्ति नभई फरक ऐतिहासिक स्वरूपको राजनीतिक रूपान्तरण थियो। उनले अबको प्रगतिशील साहित्य सिर्जनामा २०६२–६३ पछिको सामाजिक–राजनीतिक यथार्थलाई समेट्नुपर्ने आवश्यकता औँल्याए।

एक फरक प्रसङ्गमा उनले जेनजी आन्दोलनपछि राजनीतिक दलहरूले युवालाई नेतृत्व तहमा समेट्नुपर्ने समय आएको बताए। साथै, साझा वैचारिक तथा सांस्कृतिक मञ्चका रूपमा प्रलेसजस्ता सङ्गठनहरूको आवश्यकता अझै कायम रहेको धारणा व्यक्त गर्दै यसको निरन्तरता आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितविक्रम सिंह, कन्फ्युसियस सेन्टरका कोअर्डिनेटर क्यू वाङ मिङ, नेपाली लेखक सङ्घका कार्यवाहक अध्यक्ष मनोज न्यौपाने, राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, साहित्य सदनका अध्यक्ष हेमनाथ पौडेल, रक्तिम सांस्कृतिक अभियानका प्रकाश थापामगर तथा जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी मल्लले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको दोस्रो सत्र विचारगोष्ठीका रूपमा सञ्चालन गरिएको थियो। पहिलो कार्यपत्र प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेलले प्रस्तुत गरेका थिए। “प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा” शीर्षकको उक्त कार्यपत्रमाथि साहित्यकार सीता शर्मा ले टिप्पणी गरेकी थिइन्।

त्यसैगरी, दोस्रो कार्यपत्र प्रा.डा. विदुर चालिसे ले ‘बुढानीलकण्ठ नगरपालिका-प्रगतिशील साहित्य’ शीर्षकमा प्रस्तुत गरेका थिए। सो कार्यपत्रमाथि साहित्यकार नर्मदेश्वरी सत्यालले टिप्पणी गरेकी थिइन्।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत सामना सांस्कृतिक परिवारका आरोह नेपाली तथा जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष नमुना शर्माले गीत प्रस्तुत गरेका थिए।

बुढानीलकण्ठ नगरपालिकाको सहयोगमा आयोजना गरिएको कार्यक्रम डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।