श्रमिकलाई १५ हजार तलब दिने प्रधानमन्त्रीको घोषणामा प्रेम सञ्जेलको प्रतिक्रिया,–‘कति हाँस्नु ?’

दियोपोस्ट संवाददाता

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार आयोजित एक कार्यक्रममा श्रमिकको न्युनतम मासिक तलब १५ हजार रुपैयाँ पुर्याउने घोषणा गरे ।


आर्थिक वर्ष २०७८÷७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने उनको घोषणा छ ।

हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ । अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने प्रधानमन्त्रीको घोषणामा भनिएको छ ।

तर, प्रधानमन्त्री ओलीको घोषणालाई उपसचिव तथा भ्रष्टाचार विरोधी अभियान्ता प्रेम प्रसाद सञ्जेलले हासोमा उडाएका छन् ।


श्रम कार्यालय बिराटनगरका प्रमुख समेत रहेका सञ्जेललले न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ लागु गर्दा आफूलाई प्रधानमन्त्री ओलीले नै सरुवा गरेको भन्दै प्रधानमन्त्रीको भाषणालाई हासोमा उडाएका हुन् ।

‘कति हाँस्नु ????? मैंले कानूनमा भएको रु. १३४५०÷– लागू गर्दा ७० दिनमा सरुवा गर्ने यिनै हुन् । म मुद्दा लडिरहेको छु जागिरमा । कति हाँस्नु ??’ सञ्जेलले प्रधानमन्त्रीको समाचार शेयर गर्दै लेखेका छन् ।


प्रधानमन्त्रीकै आर्थिक सल्लाहाकार मोतिलाल दुगडको कम्पनिमा कार्यरत मजदुरलाई न्युनतम पारिश्रमिक दिलाउन पहल गरेका सञ्जेललाई ओली सरकारले सरुवा गरेको थियो । भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रँदै आएका सञ्जेललाई ओली सरकारकै योजनामा अख्तियारमा बयान दिन लगाइएको थियो ।