काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई कडा व्यंग्य गरेका थिए । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनिदेउ भन्दै दैलो चहारेर याचना गरेको आरोप उनको व्यंग्यमा थियो । तर, अहिले प्रधानमन्त्री ओली आफै दलबलसहित देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङसहित दलबल लिएर देउवा निवास पुगेका हुन् ।
माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउने ध्याउन्नमा छन् । आगामी वैशाख २७ गते उनले विश्वासको मत लिने निर्णय गरेका छन् । नेपाली कांग्रेसले हिजो पदाधिकारी बैठक बसेरै ओलीलाई विश्वासको मत नदिने र असफल बनाउने निर्णय गरेको थियो ।