काठमाडौं । सरकार आगामी आर्थिक वर्ष ०७९–८० को बजेट आज ल्याउने भएको छ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक प्रावधानअनुरुप आज बजेट आउने भएको हो ।
दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्ने छन् । बैठकमा उनले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्य सूची छ ।
योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो ।यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने स्रोतले बतायो ।
ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो ।
सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने यसअघि नै बताएका थिए । तर बजेटमा ६५ नभई ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी भएको स्रोतले बतायो । मन्त्रालय स्रोतले भन्यो, ‘वृद्धभत्ता सामान्य बढ्न सक्छ र वृद्धभत्ता पाउने उमेर पनि एक-दुई वर्ष घट्न सक्छ ।’
सरकारले बजेटमार्फत् निजामती कर्मचारीहरुको तलब बढाउने तयारी पनि गरेको छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरुको छ । तर देश आर्थिक संकटबाट गुज्रिरहेकाले सरकार दबाबमा छ । यद्यपि कर्मचारीको तलबमा सामान्य वृद्धि हुने सम्भावना रहेको स्रोतले बतायो ।
यसअघि योजना आयोगका उपाध्यक्ष संयोजकत्व रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । तर, त्योभन्दा ठूलो आकारमा बजेट आउने बताइएको छ ।