काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई
ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा शैलुङ्ग गाउँपालिका–२ घर भई काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय झनक थापा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित १२ नम्बर नजिक भित्री सडकमा लु.१० प ४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानरपालिका–१८ पोखरावारी बस्ने २५ वर्षीय सोहन कुमाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएको उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।
साथै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ टिमुरे गैरास्थित सडकमा रा.४ त ४२९५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान ऐरावती गाउँपालिका–१ कोल्बोट बस्ने २७ वर्षीय कमल सोमै मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । दुर्घटनामा परेका अन्य २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैसाथ कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित सडकमा से.७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय धनिराम चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।