
बाँके । कुनै समय प्रसूति बेथा लागेपछि नरैनापुर गाउँपालिकाका परिवारका लागि सबैभन्दा ठूलो चिन्ता गर्भवती महिलालाई सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउने हुन्थ्यो। सडक, एम्बुलेन्स र नजिकै स्वास्थ्य संस्थाको अभावका कारण धेरै महिलाले घरमै सुत्केरी गराउने गरेका थिए, जसले आमा र नवजात शिशुको ज्यान जोखिममा पर्ने अवस्था सिर्जना गर्थ्यो। तर पछिल्ला वर्षहरूमा नरैनापुरमा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै यो अवस्था उल्लेखनीय रूपमा परिवर्तन भएको छ।
हाल वडा–वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टर सुरक्षित मातृत्व सेवाका भरपर्दा केन्द्र बन्दै गएका छन्। घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ भने संस्थागत प्रसूति सेवाप्रति महिलाको आकर्षण निरन्तर बढिरहेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नरैनापुरका विभिन्न वर्थिङ सेन्टरबाट १ हजार १ सय ५१ महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ८ सय ८१ थियो। संस्थागत सुत्केरी सेवामा देखिएको यो वृद्धि सुरक्षित मातृत्वप्रतिको बढ्दो जनचेतना र स्थानीय सरकारको लगानीको सकारात्मक परिणाम भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षअघिसम्म प्रसूति सेवाका लागि नेपालगञ्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले गाउँमै गुणस्तरीय सेवा उपलब्ध हुनु ठूलो उपलब्धि भएको बताए।
उनका अनुसार गणतन्त्रपछि सडक, विद्युत्, स्वास्थ्य संस्था र दक्ष जनशक्तिको विस्तारसँगै नरैनापुरको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ। अहिले प्रत्येक वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टरले दुर्गम बस्तीका महिलालाई घर नजिकै सुरक्षित प्रसूति सेवा उपलब्ध गराइरहेका छन्।
स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार पहिले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्थासम्म स्वास्थ्य संस्थामा नआउने महिलासमेत अहिले नियमित गर्भ परीक्षणदेखि प्रसूति सेवासम्म वर्थिङ सेन्टरमै आउने गरेका छन्। वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा सञ्चालन भइरहेको उनले जानकारी दिए। साथै गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएकाले दुर्गम बस्तीका महिलाले पनि सहज रूपमा सेवा लिन थालेका छन्।
चालु आर्थिक वर्षमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। जटिल अवस्था देखिएमा भेरी अस्पतालमा निःशुल्क रेफर गर्ने तथा बिरामीको ओसारपसारको व्यवस्था पनि गाउँपालिकाले मिलाएको अध्यक्ष शाहले बताए।
वडा नम्बर १ स्थित कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना गुरुङका अनुसार पछिल्ला वर्षहरूमा नरैनापुरमा महिलाको सोचमा ठूलो परिवर्तन आएको छ।
उनले भनिन्, ‘पहिले धेरैजसो गर्भवती महिलाले घरमै सुत्केरी गराउने योजना बनाउनुहुन्थ्यो। अस्पताल आउन डराउने, धेरै खर्च लाग्छ भन्ने धारणा थियो र अन्तिम समयमा मात्रै स्वास्थ्य संस्थामा ल्याइन्थ्यो। अहिले भने गर्भ रहेदेखि नै नियमित स्वास्थ्य परीक्षण गर्ने, सुत्केरी हुने समय नजिकिँदै जाँदा आफैं वर्थिङ सेन्टरमा सम्पर्क गर्ने र स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने चलन बढेको छ।’
उनका अनुसार स्वास्थ्यकर्मीले गाउँ-गाउँमा पुगेर दिएको परामर्श, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, परिवारको बढ्दो साथ र गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवाले समुदायमा सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
अनमी गुरुङले प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा हुने प्रसूति नै आमा र नवजात शिशु दुवैका लागि सुरक्षित हुने बताइन्। ‘सुत्केरी सामान्य प्रक्रिया जस्तो देखिए पनि जुनसुकै बेला जटिलता आउन सक्छ। अहिले आमाहरूको आत्मविश्वास बढेको छ। कतिपय महिलाले आफ्ना छिमेकी र आफन्तलाई पनि घरमा होइन, वर्थिङ सेन्टरमै सुत्केरी गराउन प्रेरित गरिरहनुभएको छ। यही परिवर्तन हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भनिन्।
उनले अझै पनि केही दुर्गम बस्तीमा पुराना मान्यता कायम रहे पनि संस्थागत प्रसूति सेवाले आमा र नवजात शिशुको ज्यान बचाउन तथा आकस्मिक जटिलताको तत्काल उपचार गर्न सहज हुने भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन आग्रह गरिन्।
कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा उदाहरणीय परिवर्तनतर्फ अघि बढिरहेको छ। स्थानीय सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मीको समर्पण र समुदायमा बढ्दो जनचेतनाले जोखिमपूर्ण घरायसी सुत्केरीलाई सुरक्षित संस्थागत प्रसूतिमा रूपान्तरण गर्दै मातृ तथा शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याइरहेको देखिन्छ।

