राभाङ्लामा हिमालयन इन्टरनेशनल अवार्ड-२०२६ सम्पन्न, अमर वान्तु र हरि ढुंगेल दीर्घसाधना सम्मानबाट सम्मानित

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा भव्य रूपमा सम्पन्न भएको छ।

सिक्किम वेभ्स मिडिया र सिक्किम अनलाइन न्यूज मिडियाको सहकार्यमा आयोजित समारोहमा सिक्किमका विधायक रिक्साल दोर्जे भुटिया प्रमुख संरक्षकका रूपमा सहभागी भएका थिए। अवार्ड समारोहसँगै आयोजित लाइभ सांगीतिक कार्यक्रममा नेपाली संगीतका विभिन्न विधाका कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए।

यस वर्षको समारोहको मुख्य आकर्षणका रूपमा नेपालका वरिष्ठ साहित्यकार अमर वान्तु तथा सिक्किमका साहित्यकार हरि ढुंगेललाई नेपाली भाषा, साहित्य, संगीत तथा समाजसेवामा दशकौं लामो योगदानको कदर गर्दै ‘हिमालयन इन्टरनेशनल अवार्ड-२०२६’ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो। यसअघि उक्त सम्मान संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका चन्द्रकला शाह, ज्ञानु राणा तथा वरिष्ठ गायक खड्ग गर्बुजाले प्राप्त गरिसकेका छन्।

समारोहमा विभिन्न विधामा योगदान पुर्‍याएका दर्जनौं स्रष्टा, कलाकार तथा सर्जकहरू सम्मानित भए। नवगीततर्फ बाबुराम श्रेष्ठ ‘निरुपम’, हास्य अभिनयतर्फ रश्मी पाण्डे, लोकप्रिय गीतकारतर्फ बिमल काफ्ले, युगल गायनतर्फ तारावीर पाण्डे र मिलन नेवार, भाषाभाषी गायनतर्फ अनिल योञ्जन तथा आधुनिक गीततर्फ नारायण नेपाल, सुमन बी.टी. र पवित्रा गुरुङ सम्मानित भए।

त्यसैगरी, बालकलाकार कायरा गुरुङले ‘राइजिङ स्टार अवार्ड’ प्राप्त गरिन्। विभिन्न विधामा योगेश काजी, मेरो करिमा, प्रकाश सुवेदी, विनोद श्रेष्ठ, बिनोद तानेर, मुकेश गुरुङ, शंकर थापा ‘स्माइल’, नीता आचार्य, डा. विलोल पोखरेल, दीपक शर्मा तथा प्रकाशजंग कार्कीलगायतले जुरी अवार्ड प्राप्त गरे।

यस्तै, षड्ज सम्बाहाम्फे र रचना रिमाल, छपिन गुरुङ, कृष्णदेव रूपाखेती, पासाङ शेर्पा, सारिका घिमिरे, रोशन टमट्टा, अमृत मारहट्ठा, सेरु बराली, पवित्रा आचार्य, कल्पिस विश्वकर्मा, मञ्जु लावती र कुन्दन गुप्तासहित विभिन्न विधाका कलाकार तथा स्रष्टाहरू पनि सम्मानित भए।

अवार्ड समारोहसँगै सम्पन्न सांगीतिक कार्यक्रममा तारावीर पाण्डे, अशोक दर्जी, शंकर थापा ‘स्माइल’, सारिका घिमिरे, षड्ज सम्बाहाम्फे, सुमन बी.टी, प्रकाशजंग कार्की, सुन्दर राई, विनोद दनुवार, रमेश पाठक, पवित्रा गुरुङ र अनिश योञ्जनले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरे। नृत्यतर्फ पवित्रा आचार्य, शिला गजुरेललगायतका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

समारोहमा साहित्यकार अमर वान्तु र डा. विलोल पोखरेलले कविता वाचन गर्दै समकालीन नेपाली साहित्य र सिर्जनात्मक यात्राबारे आफ्ना धारणा प्रस्तुत गरे। साथै, सिक्किमका कवि फुर्बा खाण्डु शेर्पाको कवितासङ्ग्रह ‘देउराली भञ्जाङ’ पनि लोकार्पण गरिएको थियो।

यस अवसरमा नेपाल र सिक्किमका साहित्यकार, सञ्चारकर्मी, कलाकार तथा समाजसेवीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा अमर बानियाँ ‘लोहोरो’, सृजना कार्की, टिकामाया गुरुङ, भक्तराज जोशी, अशोक दर्जी, रिहान सुब्बा, अक्कल कुँवर, स्वस्तिका पन्थी, पेम नर्वु शेर्पा, फूर्वा रवाण्ड, डेनिभ पुन, गीता सिंह, केवल तामाङ, शिला गजुरेल, लक्ष्मणराज पौडेल, सुन्दर राई, तीर्थकुमारी राई, सुष्मा गुरुङ र रिकी ल्हामु लेप्चालगायत रहेका थिए।

समारोहलाई सम्बोधन गर्दै अवार्डका अध्यक्ष गणेश सुवेदीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको बताए। नेपाल र विश्वभर रहेका नेपाली भाषी स्रष्टालाई एउटै मञ्चमा जोड्ने अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने उनले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम संयोजक गीता अधिकारीका अनुसार विभिन्न कारणले राभाङ्लामा उपस्थित हुन नसकेका सम्मानित स्रष्टा तथा कलाकारलाई निकट भविष्यमै काठमाडौंमा विशेष समारोह आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिनेछ। नेपाल र भारतका नेपाली भाषी स्रष्टा तथा कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले यस वर्षको संस्करण सिक्किममा आयोजना गरिएको उनले जानकारी दिइन्।

अघिल्लो संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको हिमालयन इन्टरनेशनल अवार्डले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको आयोजकको विश्वास छ। ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित सम्पन्न यस संस्करणले नेपाल र भारतका नेपाली भाषी समुदायबीचको सांस्कृतिक तथा साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूको धारणा थियो।

सम्बन्धित खबर

सिफारिस