
काठमाडौँ । नेपालमा पेप्सी, माउन्टेन ड्यु लगायतका चिसो पेय पदार्थहरूको उत्पादन तथा विक्री वितरण गर्दै आएको वरुण बेभरेज (नेपाल)ले फेरि पनि उच्चतम क्रेडिट रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले अल्पकालीन ऋण सीमाका लागि गरेको क्रेडिट रेटिङमा कम्पनीले फेरि पनि अति उत्तम अर्थात् ‘ए वान प्लस’ रेटिङ प्राप्त गरेको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले आफ्नो वेभपेजमा प्रकाशन गरेको विवरण अनुसार वरुण बेभरेजको वित्तीय अवस्था सुदृढ रहनुका साथै क्यास फ्लो पर्याप्त रहेको पाइएको छ । साथै कम्पनीको सम्पत्तिको आधारमा ऋण निर्भरता पनि निकै कम रहेको पाइएको छ । कम्पनीले आफ्नो सञ्चालन मुनाफामा लगातार वृद्धि गरिरहेको, सञ्चालनका लागि आवश्यक नगद प्रवाह कायम नै राखेको र ऋण तिर्ने क्षमतासमेत उच्च रहेको देखिएको हो ।
के हो ‘ए वान प्लस’ क्रेडिट रेटिङ भनेको ?
आइसीआरए नेपाल अर्थात् इक्रा नेपाल नेपालकै पहिलो क्रेडिट रेटिङ कम्पनी हो । यसले विभिन्न कम्पनीहरूको वित्तीय क्षमता, ऋण तिर्ने क्षमता, क्यास फ्लो तथा सञ्चालन क्षमताका आधारमा मूल्यांकन गर्ने गर्दछ । ‘ए वान प्लस’ रेटिङ अल्पकालीन कर्जाको क्षेत्रमा सबैभन्दा उच्चतम श्रेणीको रेटिङ हो । यो रेटिङले कम्पनीले छोटो समयमै आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता राख्दछ भन्ने जनाउँछ ।
वरुण बेभरेजले किन पायो ‘अति उत्तम’ रेटिङ ?
इक्रा नेपालले वरुण बेभरेजलाई अति उत्तम क्रेडिट रेटिङ दिनुको मुख्य कारण यसको उत्कृष्ट वित्तीय प्रदर्शन हो । कम्पनीको खर्च र आम्दानी अनुपातमा सन्तुलन मिलेको, नेपालको कुल बजार हिस्सामा २ प्रतिशतले वृद्धि भएको, ऋण–स्वामित्व अनुपात न्यून रहेको र नगद सञ्चिति समेत उच्च रहेको कारण उसको व्यापार क्षमताका आधार यस्तो रेटिङ दिइएको हो । इक्रा नेपालका अनुसार नेपालमा वरुण बेभरेज नेपालबाट उत्पादन हुने चिसो पेय पदार्थहरूको कुल बजार हिस्सा ४१ प्रतिशतबाट बढेर ४३ प्रतिशत पुगेको छ । यो रेटिङ आर्थिक वर्ष (सन् २०२५) को पहिलो ९ महिना अवधिको मात्रै हो ।
वरुण बेभरेज कि ‘अति उत्तम’ ? यी हुन् ५ बलिया आधार
इक्रा नेपालको रिपोर्ट अनुसार, वरुण बेभरेजलाई उच्चतम रेटिङ दिनुका पाँच मुख्य कारण यस्ता छन् :
– पहिलो, कम्पनीको ऋण–स्वामित्व अनुपात ०.४ गुणा मात्र छ । अर्थात्, कुल पुँजीको ४० प्रतिशत मात्र ऋण हो । यो अत्यन्तै न्यून हो ।
– दोस्रो, ब्याज तिर्ने क्षमता २६.९ गुणा छ । एउटा सामान्य कम्पनीले ३-४ गुणा ब्याज क्षमता कायम राख्न सक्दा पनि वरुणले २७ गुणा कायम गरेको छ । अर्थात्, एक वर्षको नाफाले करिब २७ वर्षसम्मको ब्याज तिर्न सक्ने क्षमता यो कम्पनीले राखेको छ ।
– तेस्रो, कम्पनीसँग सन् २०२६ को अप्रिलसम्म २ अर्ब ६० करोड रुपैयाँ नगद सञ्चिति छ । यो रकमले कम्पनीलाई कुनै पनि आपत्कालीन अवस्थामा सहजै धान्न सक्ने बनाउनेछ ।
– चौथो, सञ्चालन मुनाफा लगातार बढिरहेको छ । आर्थिक वर्ष २०७८।७९ मा २१.२ प्रतिशत रहेको नाफा मार्जिन अहिले बढेर २७.६ प्रतिशत पुगेको छ ।
– पाँचौँ, बजार हिस्सा ४१ प्रतिशतबाट बढेर ४३ प्रतिशत पुगेको छ, जुन नेपालको चिसो पेय पदार्थ उद्योगमा दोस्रो ठुलो हिस्सा हो ।
एक्लैको ४३ प्रतिशत बजार कब्जा, माउन्टेन ड्यु ‘हिरो प्रोडक्ट’
वरुण बेभरेजको अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा कुल बजार हिस्सा अर्थात् नेपालमा विक्री हुने पेय पदार्थमध्ये ४१ प्रतिशत मात्रै रहेको थियो । तर यस आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा वरुण बेभरेज नेपालको बजार हिस्सा बढेर ४३ प्रतिशत पुगेको पाइएको छ । नेपालको चिसो पेय पदार्थ उद्योगमा यो दोस्रो सबैभन्दा ठुलो हिस्सा हो ।
पेप्सी कम्पनीको नामले परिचित वरुण बेभरेज प्रालिले कुल बजार हिस्साको ४३ प्रतिशत कब्जा गर्दा यसको हिरो प्रोडक्टका रूपमा रहेको माउन्टेन ड्युको मात्रै व्यापार भने करिब ८६ प्रतिशत रहेको छ ।
कम्पनीले आफ्नो कुल आम्दानीको ८३ देखि ८६ प्रतिशत ‘माउन्टेन ड्यु’ को उत्पादनबाट मात्रै प्राप्त हुने गरेको देखिएको छ । अर्थात् वरुण बेभरेजको ‘हिरो प्रोडक्ट’का रूपमा माउन्टेन ड्यु रहेको र नेपाली बजारमा माउन्टेन ड्युको लोकप्रियता अत्यधिक रहेको देखिएको छ । उस्तै स्वाद हुने यस्तो उत्पादनको विकल्प नभएको कारण पनि माउन्टेन ड्युको माग बढेको रेटिङ एजेन्सीको रिपोर्टमा उल्लेख छ ।
के के उत्पादन गर्छ वरुण बेभरेजले
वरुण बेभरेज नेपालले पेप्सी, मिरिन्डा, माउन्टेन ड्यु, स्लाइस, सेभेन अप, अक्वाफिना पानी, सोडा तथा स्ट्रिङ एनर्जी ड्रिंक्सको उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । वरुण वेभरेज नेपाल २०४२ सालदेखि पेप्सीको अधिकृत उत्पादक तथा वितरकका रूपमा रहेको छ ।
यस्तो छ वरुण बेभरेज प्रालिको विगत ५ वर्षको वित्तीय अवस्था

वरुण बेभरेज (नेपाल) प्रालि वरुण बेभरेज लिमिटेड, भारतको शतप्रतिशत सेयर स्वामित्व कम्पनी हो । यो कम्पनीले भारतसहित नेपाल, श्रीलंका लगायतका देशहरूमा पेप्सी लगायतका पेय पदार्थको उत्पादन तथा विक्री वितरण गर्ने गरेको छ ।
इक्रा नेपालका अनुसार कम्पनीको बलियो व्यावसायिक प्रदर्शन, न्यून ऋण, उच्च नगद सञ्चिति आदि कारणबाट कम्पनीको आर्थिक अवस्था सुदृढ रहने देखिएको छ ।