
काठमाडौँ । चिनियाँ विद्युतीय सवारीसाधन उत्पादक जीएसीले आफ्नो ग्राहकको सङ्ख्या ३ करोड पुराएको छ । विश्वका ११० देशमा आफ्नो उत्पादन बेचिरहेको जीएसीले ग्राहकको सङ्ख्या ३ करोड पुगेको जनाएको हो ।
विश्वव्यापी अटोमोबाइल क्षेत्रमा एउटा ऐतिहासिक कोसेढुंगा पार गर्दै चिनियाँ सवारी साधन उत्पादक जीएसी समूहले आफ्ना प्रयोगकर्ता ३ करोड पुग्दा विद्युतीय कार आयोनको महत्त्वपूर्ण भूमिका रहेको जनाएको छ ।
आयोन कार नेपाल लगायत विश्वका अधिकांश देशमा अत्याधुनिक प्रविधिसहितको भरपर्दो विद्युतीय सवारीसाधनको रूपमा परिचय बनाएको कम्पनीले जनाएको छ ।
नेपालमा आयोन गाडीको आधिकारिक बिक्रेताको रूपमा सीजी मोटर्स रहेको छ । कम्पनीले आयोन ब्रान्डलाई स्थानीय उपभोक्तामाझ लोकप्रिय बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरेको छ ।
यसै साता जीएसीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सन् २०२६ को पहिलो छ महिनामा कम्पनीको निर्यात १ लाख २१ हजार पाँच सय युनिट पुगेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३२ प्रतिशतको बढोत्तरी हो । यो तथ्यांकले आयोनको गुणस्तर र विश्वसनीयताप्रति विश्वभरका उपभोक्ताहरूको भरोसा बढेको कम्पनीले दाबी गरेको छ ।
जीएसीको व्यापार ११० देशमा विस्तार
जीएसी समूहले आफ्नो पहिलो सवारी साधन उत्पादन गरेको दिनदेखि आजसम्म ३ करोड सवारी उत्पादनको यात्रा पूरा गर्दासम्म नवप्रवर्तन र गुणस्तरलाई केन्द्रमा राखेको जनाएको छ । हाल जीएसीको अन्तर्राष्ट्रिय व्यवसाय ११० देशका विभिन्न क्षेत्रहरूमा फैलिएको जनाएको छ, जहाँ ७४६ बिक्री तथा सेवा केन्द्रहरू सञ्चालनमा आएका छन् । यसको विश्वव्यापी आपूर्ति शृङ्खलालाई बलियो बनाउन ६ वटा अन्तर्राष्ट्रिय उत्पादन केन्द्र र ९ वटा पार्टस् गोदामहरू रहेको समेत कम्पनीले जनाएको छ ।

अहिले अमेरिका, एसिया-प्यासिफिक, मध्यपूर्व, अफ्रिका र युरोप लगायतका प्रमुख बजारहरूमा जीएसीको बजार बिस्तार भएको भन्दै आयोनलाई स्थानीय आवश्यकता अनुसारका समाधान दिन काम गरिरहेको जनाएको छ । जीएसीले अहिले अनुसन्धानदेखि बिक्रीपछिको सेवासम्मको एकीकृत इकोसिस्टममार्फत ग्राहकलाई प्रिमियम अनुभव दिने रणनीति रहेको छ ।
नेपालमा आयोनको अवस्था
नेपालमा सीजी मोटर्सले आयोनका सवारीसाधनहरू बिक्री गर्दै आएको छ । विद्युतीय सवारीको माग दिनानुदिन बढिरहेको अवस्थामा नेपालमा आयोनको ‘अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र स्मार्ट ड्राइभिङ’ को अवधारणाले विशेष अर्थ राख्ने गरेको सीजी मोटर्सले जनाएको छ । आयोनको स्थानीय वितरक सीजी मोटर्सले उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय मापदण्डको बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
सीजीले भनेको छ, ‘३ करोड प्रयोगकर्ताको माइलस्टोनले विश्वभरका ग्राहकहरूले जीएसी र आयोनमा गरेको विश्वासको प्रतिनिधित्व गर्दछ र आगामी दिनहरूमा जीएसी समूह र आयोनले नवप्रवर्तन र गुणस्तरीय सेवामार्फत यो यात्रालाई निरन्तरता दिनेछ ।’
विद्युतीय मोबिलिटीको भविष्यलाई अझ सुदृढ र पहुँचयोग्य बनाउने लक्ष्यका साथ जीएसीले विश्वव्यापी रूपमा लगानी विस्तार गर्ने योजना बनाएको समेत विज्ञप्तिमा उल्लेख छ । ३ करोड उत्पादनको यो ऐतिहासिक उपलब्धिले आयोनलाई नेपाल लगायत दक्षिण एसियाली बजारमा प्रतिस्पर्धी ब्रान्डका रूपमा अगाडि बढ्न थप ऊर्जा मिल्ने कम्पनीले दाबी गरेको छ ।