छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बझाङको केदारस्यु गाउँपालिका–१ झारछडास्थित जयपृथ्वी राजमार्गमा डडेल्धुराबाट चैनपुर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट करिब ५० मिटर तल कालङगा नदीको किनारमा खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा ३ जनाका मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जयपृथ्वी नगरपालिका–१० बस्ने सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ५५ वर्षीय पृथ्बी बहादुर सिंह, उनकै श्रीमती ५० वर्षीया अमृता सिंह र सोही नगरपालिका–५ बस्ने ६० वर्षीया जया देवी सिंह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पृथ्बी बहादुर सिंह कोहलपुर मेडिकल कलेजमा तथा अमृता सिंह र देवी सिंहको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालकसहित २ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसैगरी धनुषाको नगराईन नगरपालिका–५ गंगूली हाईबेस्थित सडकमा अन टेस्ट लेखिएको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी भंगाहा नगरपालिका–२ राजपुर टोल बस्ने सुरेश साहकी छोरी ५ वर्षीया रोशनी साह रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामजानकी अस्पताल जनकपुर हुँदै न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै मकवानपुरको भिमफेदी गाउँपालिका–८ गगटेस्थित सडकमा बीएसी ०५३७ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खोचमा खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने ३० वर्षीय बिबेक लामा रहेका छन् । साथै दुर्घटनामा घाइते भएका कारमा सवार एक जनालाई उपचारको लागि हेटौंडातर्फ पठाइएको छ ।

यसैसाथ कैलालीको घोडाघोडी नगरपालिका–६ झलझलीयास्थित सडकमा ना.४ त ८७१५ नम्बरको ट्याक्टरबाट खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २७ वर्षीय अर्जुन चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु मंगलबार दिउँसो भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।