अबैध ओसारपोसारको शिकारमा गरीब बालबालिका, गुम्बामा पढाउने प्रलोभन

मुगु र हुम्लाबाट काठमाडौ लिँदै गरेको अवस्थामा २८ बालबालिका फेला

- अस्मिता खड्का/कमल विश्वकर्मा  

मुगु । बालबालिकालाई धार्मिक विद्यालयमा पढाउने प्रलोभन देखाई हुम्ला र मुगुबाट बालबालिका ओसारपसार हुने गरेको पाइएको छ । गरिबीको कारण अभिभावकले शिक्षा दिन नसक्ने भन्दै धार्मिक विद्यालयमा पढाउने प्रलोभनमा हुम्ला र मुगुका विभिन्न पालिकाबाट बालबालिका ओसारपसार हुने गरेको पाइएको हो ।

सोमबार राती मात्र बौद्ध धर्मावलम्बीको पठनपाठन हुने स्थान गुम्बामा पढाउने भन्दै मुगु र हुम्लाबाट काठमाडौ लिँदै गरेको अवस्थामा २८ जना बालबालिका फेला पारेको छ । बालबालिकालाई ओसारपसार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ति बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ राखेको छ ।

हुम्ला घर बताउने नाम्गेल छिरिङ नामका व्यक्तिलाई नियन्त्रणमा लिइएको जिप्रका सुर्खेतका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) वीर बहादुर विश्वकर्माले बताए । ‘नियन्त्रणमा लिइएका व्यक्ति गुम्बाबाट शिक्षा लिएका व्यक्ति हुन्’ उनले भने, ‘ति व्यक्तिले काठमाडौको बौद्धनजिकै गुम्बाबाट शिक्षा दिलाउने भन्दै मुगु र हुम्लाका विभिन्न पालिकाबाट १६ बालिका र १२ बालकलाई रातारात काठमाडौतर्फ लैजान खोजेका थिए । सुचनाको आधारमा हामीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएका हौँ ।’

उनकाअनुसार नियन्त्रणमा लिइएका छिरिङले गुम्बाबाट शिक्षा प्रदान गरिने प्रलोभन देखाएका थिए । जसमा हुम्लाको खर्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकाबाट उक्त संख्यामा बालबालिका रहेका छन् । ति बालबालिका ६ देखि १३ वर्ष उमेर समुहका रहेका छन् ।

नियन्त्रणमा लिइएका बालबालिकालाई अभिभावकाको जिम्मा लगाइनेसमेत डिएसपी विश्वकर्माले बताए । ‘गरिबीको कारण देखाउदै अभिभावकको मन्जुरीमा ति व्यक्तिले बालबालिकालाई गुम्बामा लग्ने भनेर ल्याएका रहेछन्’ दियोपोष्टसँग उनले भने, ‘त्यसरी ल्याइएका बालबालिकाहरु दलित, क्षेत्री र भोटेलगायत विभिन्न समुदायका छन् । अब ति बालबालिकालाई हामीले अभिभावकको जिम्मा लगाउने भएका छौ ।’

वर्षेनी कम्तीमा २५ बालबालिका ओसारपसार
धार्मिक विद्यालयमा अध्ययन गराउने नाममा यसअघि पनि मुगु र हुम्लाका विभिन्न पालिकाबाट बालबालिका ओसारपसार हुने गरेको विभिन्न स्रोतले जनाएको छ । यसअघि डेढ वर्षअघि गुम्बामा पढाउने भन्दै झन्डै २५ बालबालिकालाई काठमाडौ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिप्रका सुर्खेतको रेकर्डले देखाउँछ । उक्त समयमा प्रहरीले केहि दिन नियन्त्रणमा राखेपनि वडा कार्यालयको शिफारिस प्राप्तीपछि ति बालबालिकालाई गुम्बामा अध्ययनको लागि काठमाडौ पठाइएको थियो ।

यस्तै गत वर्ष पनि झन्डै २५ बालबालिका ओसारपसार गर्दै गरेको अवस्था देखा परेको तर उनीहरुलाई भने नियन्त्रणमा लिन नसकिएको त्यहाँका स्थानियको भनाई छ । यद्यपि, बालबालिका कुन र कस्तो अवस्थामा ओसारपसार भइरहेको छ भन्नेबारे वास्तविक तथ्यांक उपलब्ध नभएको जिप्रकाका डिएसपि विश्वकर्माले बताए । ‘पछिल्लो समय हामीसँग भएको रेकर्ड यति नै हो’ उनले भने, ‘धार्मिक विद्यालयमा पठाउने, विभिन्न संस्थाको संरक्षणमा राखिने भन्दै बालबालिका ओसार पसार हुने गर्छन् । वास्तविक तथ्यांक भने छैन । तर यस्तो सुचना प्राप्त भयो, शंकास्पद देखियो र कानुन विपरित देखिएको अवस्थामा हामीले नियन्त्रणमा लिने गरेका छौ ।’

सम्बन्धित पालिकालाई थाहा छैन
पक्राउ परेका व्यक्ति छिरिङले प्रहरीसमक्ष दिएको बयानमा सम्बन्धित वडाले सिफारिस दिएको बताएका थिए । सोहि सुचनाको आधारमा दियोपोष्टले यसबारे सम्बन्धित पालिकाका अधिकारीहरुसँग बुझ्न खोज्दा कुनैपनि पालिका जानकार देखिएनन् ।

‘गरिबी र धार्मिक विद्यालयमा पढाउने नाममा बालबालिका ओसारपसार गर्नु अपराध हो’
राष्ट्रिय बालबालिका नीती २०८० अनुसार बालबालिकालाई कुनैपनि बहानामा ओसारपासार गर्नु गैरकानुनी कार्य हो ।
राम्रो शिक्षा दिने र गरिबीको नाममा बालबालिका ओसारपसार गर्न नपाईने अधिकारकर्मी राजेश शर्माले बताए । ‘कुनैपनि बहानामा बालबालिका ओसारपसार गर्नु बलबालिका ऐन विपरित हो । परिवारविहिन भयो या कुनै अवस्थामा मात्र सिफारिसको आधारमा संरक्षणको लागि लगिन्छ । संरक्षणको खाचो भए सरकारले नै संरक्षण गर्छ’ दियोपोष्टसँग उनले भने, ‘तर अभिभावक हुदाहुदै सिफारिसको आधारमा यसरी बालबालिका ओसारपसार गर्न पाइदैन । राम्रो शिक्षा दिने, गरिबीको नाममा बालबालिका संकलन गरेर ओसारपसार गर्न पाइदैन ।

‘कानुनअनुसार कारबाहि हुनुपर्छ । यो मुद्धा चल्ने विषय हो ।’
यस्तो अवस्थामा बालबालिकालाई अभिभावकको जिम्मा लगाउनुपर्ने उनले बताए । ‘बालकालिकालाई आफ्नो अभिभावकको जिम्मा लगाउनुपर्छ’ उनले भने, ‘कतिपय अवस्थामा गाउँमा शिक्षा स्वास्थ्य हुदाहुदै पनि संरक्षण गर्न सकिदैन । तर यसको कारण पहिचान गरेर सरकारले समाधानको जिम्मा लिनुपर्छ ।’