सडक अतिक्रमणविरुद्ध चन्दागिरी नगरपालिकाको डोजर अभियानः सडक छेउका दर्जनौं टहरा भत्काइए

दियोपोस्ट संवाददाता  

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरिएका टहरा तथा अस्थायी संरचनामाथि शुक्रबार डोजर चलाइएको छ। चन्द्रागिरि नगरपालिका र २ नं वडा कार्यालयको समन्वयमा सञ्चालन गरिएको अभियान अन्तर्गत राजमार्ग तथा फुटपाथ क्षेत्र ओगटेर बनाइएका दर्जनौं टहरा हटाइएको हो ।

नागढुङ्गा उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सवारी साधनका लागि प्रमुख नाका मानिन्छ। पछिल्लो समय व्यापारिक प्रयोजनका लागि सडकछेउ तथा फुटपाथमा अस्थायी टहरा निर्माण गरिएपछि पैदल यात्रु आवतजावतमा समस्या भोग्न बाध्य भएका थिए।

स्थानीय बासिन्दा दिनेश परियारका अनुसार सडक किनारमा वर्षौंदेखि सञ्चालनमा रहेका दर्जनौं पसल तथा टहरा हटाइएका छन्। ‘फुटपाथ नै ओगटेर पसल राखिएका कारण पैदल यात्रुले सडकमै हिँड्नुपर्ने अवस्था थियो। यसले दुर्घटनाको जोखिम समेत बढाएको थियो,’ उनले बताए।

स्थानीयवासीले लामो समयदेखि सडक अतिक्रमण हटाउन माग गर्दै आएका थिए। विशेषगरी व्यस्त राजमार्ग क्षेत्रमा पैदल यात्रुको सुरक्षामा चुनौती थपिएको भन्दै गुनासो बढ्दै गएको थियो।

नगरपालिकाले सार्वजनिक सडक, फुटपाथ तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ। सम्बन्धित निकायले अतिक्रमण हटाएपछि सडक क्षेत्र व्यवस्थित बन्नुका साथै पैदल यात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीले भने अतिक्रमण हटाउने कार्यलाई स्वागत गर्दै आगामी दिनमा पुनः सडक तथा फुटपाथ अतिक्रमण हुन नदिन नियमित अनुगमन आवश्यक रहेको बताएका छन्।