११ महिनामा १४ खर्बको आयात, १ खर्बको निर्यात

दियोपोस्ट संवाददाता  

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।

मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन् । विभागका अनुसार १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ।

मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैंचा, अलैंची,फलाम तथा स्टिल छन् । चालु आर्थिक वर्षको ११ महिनमा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । विभागका अनुसार ७ अर्ब ४७ करोड श्ररुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।