काठमाडौँ। नेपालको पर्यटन क्षेत्रमा महिला व्यवसायीहरूको उपस्थिति र नेतृत्वलाई सुदृढ गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यका साथ काठमाडौंमा तीनदिने ‘क्षमता तथा व्यवसाय प्रवर्द्धन’ तालिम सुरु भएको छ। महिला पर्यटन व्यवसायी सञ्जालको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा सुरु भएको यस तालिमले महिला उद्यमीहरूलाई व्यावसायिक र नेतृत्वदायी भूमिकामा स्थापित गराउने उद्देश्य राखिएकाे छ।
तालिममा पर्यटन व्यवसायका विभिन्न क्षेत्रमा संलग्न ५० जना महिला उद्यमीहरूको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष निर्मला धमलाले जानकारी दिइन् । उनका अनुसार, ‘यो तालिम केवल सीप सिकाउन मात्र होइन, पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन, लुकेका पर्यटकीय सम्भावनाहरूको खोजी गर्न र महिलाहरूलाई यस व्यवसायको नेतृत्वदायी भूमिकामा स्थापित गराउन केन्द्रित छ।’
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपालमा करिब ५५ सय महिला व्यावसायिक रूपमा पर्यटनमा लागे पनि यो संख्या अझै न्यून रहेको बताईन् । उनले भनिन्, ‘पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढाउन देशव्यापी रूपमा संगठन विस्तार गर्न आवश्यक छ। विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूले होमस्टेमार्फत स्थानीय कला, संस्कृति र खानपानलाई प्रवर्द्धन गर्दै सिङ्गो पर्यटन व्यवसाय धान्न सक्ने अपार सम्भावना छ।’ अध्यक्ष ज्ञवालीले होमस्टेलाई देशैभरि विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन्।
सो अवसरमा नेपाल पर्यटन बोर्डका निर्देशक हिक्मत सिंह ऐरले हिमाली क्षेत्रको ट्रेकिङ व्यवसायमा महिलाहरूको योगदान उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे। ‘अवसर पाएमा महिलाहरूले सिङ्गो पर्यटन व्यवसाय हाँक्न सक्छन्,’ उनले भने, ‘त्यसैले पर्यटनका हरेक क्षेत्रमा उनीहरूलाई समान अवसर र प्रोत्साहन दिनु राज्य र सरोकारवाला निकायको दायित्व हो।’
त्यसैगरी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’की पूर्व महासचिव सरिता लामाले महिलाहरू पर्यटन व्यवसायमा अगाडि बढ्दा देशको आर्थिक क्षेत्र नै बलियो हुने बताईन् । उनले यसका लागि व्यावसायिक सीप र दक्षता अभिवृद्धि गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गरिन।
समग्रमा, तालिमले महिला पर्यटन व्यवसायीहरूलाई आवश्यक सीप र दक्षता प्रदान गरी उनीहरूको व्यावसायिक आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ। ग्रामीण भेगका होमस्टेदेखि हिमाली क्षेत्रको ट्रेकिङसम्म महिलाको भूमिकालाई अझ सशक्त बनाउँदै पर्यटनलाई देशको आर्थिक समृद्धिको बलियो आधार बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेमा सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।