विराटनगर । धनकुटाबाट तरकारी लोड गरी इटहरी आउँदै गरेका दुई वटा ट्रकबाट ४२ क्वीन्टल गाँजा बरामद भएको छ । मंगलबार बिहान इटहरी उपमहानगरपालिका– २० तरहरामा ५ ख ६११६ नम्बरको तरकारी लोड गरिएको ट्रकमा ७० वटा बोरामा गाँजा बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बन्दा र आलुसहित ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलो गाँजा बरामद गरेको थियो । प्रहरीले दुई वटा ट्रक र ३ जना भरियालाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले चालक धनकुटा शहिदभूमि गाउँपालिका– ६ का राजेन्द्र राईसहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र नगरपालिका –९ सुनसरीका सुमन राईलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
सो ट्रकमा ४२ क्वीन्टल गाँजासहित ३१ बोरा अदुवा र ६ बोरा बन्दा रहेको प्रहरीको भनाई छ । धनकुटा गाँजा खेती हुने क्षेत्र हो । धनकुटामा उत्पादन भएको गाँजा भारत निकासीका लागि तस्करको समूहले साना गाडी र ट्यु मार्फत सप्तकोशी नदी हुँदै ओसार पसार गर्थे । पछिल्लो समय तरकारी बोकेको ट्रक प्रयोग हुन थालेको प्रहरीले बताएको छ ।