विनयी खोलाको बाढीले बस बगायो, यात्रुको उद्वार

दियोपोस्ट संवाददाता

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ । पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो ।

तीन बच्चसहित ३८ जना यात्रु बोकेर आइरहेको बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको थियो ।

गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ ।