रास्वपा र राप्रपाको विरोधका बाबजुत ‘संसद’ सुचारु

दियोपोस्ट संवाददाता  

काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर आजपनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेका छन् । रास्वपा र राप्रपाको विरोधका बाबजुत सभामुखले संसदको कामकारबाही अगाडि बढाएका हुन् ।

विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभामा बिरोध जारी राखेका छन् । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति गरेर संसद सुचारु गर्न सहयोग गरेता पनि रास्वपा र राप्रपा भने निरन्तर विरोधमा छन् । रास्वपा र राप्रपाका सांसदहरुले आज पनि बैठक सुरु भएलगत्तै रोष्टममा उभिएर विरोध प्रर्दशन गरेका थिए ।

सभामुखले समय दिएपछि रास्वपाका सांसद असिम शाहले एक महिनादेखि संसद्मा नाटक मञ्चन भइरहेको बताए । सांसद शाहले मानव तस्करी जस्तो विषयमा सरकार गम्भीर नभएको आरोप लगाए । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने उनको माग छ ।

विगतका एक जना सांसद संसद्मा उभिए पनि विरोध हुने र कुनै पनि मन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा आउनुपर्ने भनेर गृहमन्त्री रमेश लेखकले भन्ने गरेको उनले स्मरण गरे । तर, आफैँमाथि गम्भीर प्रश्न उठ्दा समेत राजीनामा नदिएको बताए ।

राप्रपाका सांसद धवल शम्शेरले सरकार किन भिजिट भिसा प्रकरणमा छानबिनका लागि तयार भएन भनेर प्रश्न गरे ।

 

सिफारिस