काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्धामा पक्राउ पुर्जी जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बर्दिया प्रहरीलाई एक पत्र लेखी सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको हो ।
सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको बताइएको छ । उनीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता सुमन फरार छिन् ।
पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । आशा कुमारी चौहानको जाहेरीअनुसार सुमन बैंकिङसम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन आग्रह गरिएको छ ।
जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीका नेतृ आशाकुमारीसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् । रकम फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेश सभा सदस्य रायमाझीले गत भदौ सात गते दुई लाख ७५ हजार रुपियाँ साट्ने गरी त्यति नै बराबरको चेक काटेर अनितालाई दिएकी थिइन् ।
तर त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो । यसबारे सुमनलाई पटक–पटक आफूले जानकारी गराएको उनले बताउँदै आएकी थिइन् । त्यसपछि पनि सुमनले अरू दुई वटा चेक दिएकी र त्यो पनि साट्न जाँदा सबै बाउन्स भएको उनले बताईन् । यसबारे सबै कुरा आफूले जनमत पार्टीमा पटक–पटक भने पनि कसैले चासो नदिएपछि मुद्दामा जानुपरेको उनले बताइन् ।
सुमन समानुपातिक प्रदेशसभा सदस्य हुन् ।
