काठमाडौँ । कर्णालीको सुशासनको माग गर्दै खाली खुट्टा पैदल हिँडेर सुर्खेतदेखि काठमाडौँ आएका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । काठमाडौँ आएलगत्तै प्रधानमन्त्रीलाई भेट्न खोजका बोहराले आज मात्रै भेट्न पाएका हुन् ।
बोहोराले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका थिए । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराएका थिए ।
प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर लाई धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न सुझाव दिएका थिए । प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुरा सुनाउन पाएकामा खुसी व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताए ।
बोहोराले कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौं आइपुगेका थिए ।