काठमाडौँ । मलेसियामा जारी एसिसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले सानदार बिजयी सुरूवात गरेको छ। आइतबार भएको समूह ‘ए’ को खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्यो ।
सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३३.३ ओभरमा पूरा गर्यो। नेपालको जितमा प्रसिद्ध जैशीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५५ रन बनाउने क्रममा ९७ रन बलमा ५ चौका प्रहार गरे। शुभम खनाल ९ रनमा नटआउट भए।
ओपनर सूर्यान्सु कोइराला ९ रनमा रिटायर्ड हर्ट भएका थिए। विकेटकिपर ब्याटर शिवान्स बजगाई ९ रनमा आउट भएका थिए । रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्काको मद्दतमा ४० रन बनाए। जय थापा ४ रन र सुगम बुढाथोकी शून्यमै आउट भए।
मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा १३८ रनमा अललआउट भयो। सिंगापुरका लागि कप्तान रियान नाइकले अर्धशतक बनाए । उनले ५३ बल खेलेर ९ चौका प्रहार गरे।
बलिङमा नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन राखे भने ३४ रन खर्चिए। सचिन भट्टले ३ विकेट लिन सफल भए। सचिनले ६.१ ओभरमा २ मेडन राख्दा १८ रन दिए । यस्तै अभय यादव र शुभम खनालले १-१ विकेट हात पारे।
प्रतियोगिताामा नेपाल समूह ‘ए’मा छ। समूहमा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्। नेपालले अब जापानसँग असार १० गते, इन्डोनेसियासँग असार १५ गते र भुटानसँग असार १७ गते खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।