
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आपसी मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
अख्तियारको दाबी अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा शव दाह मेसिन खरिद प्रक्रिया सुरु गर्नुअघि नै आफू अनुकूलको कम्पनीलाई ठेक्का पार्ने योजना बनाएका थिए। यसका लागि उनीहरूले विभिन्न चरणमा बदनियत पूर्वक काम गरेको आरोप पत्रमा उल्लेख छ ।
अख्तियारका अनुसार अनुभव नै नभएको परामर्शदाता कम्पनी ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी’ लाई फर्जी कोटेसनका आधारमा परामर्श सेवाको जिम्मा दिइएको थियो । सोही कम्पनीमार्फत भारतीय ३२ लाख ५० हजार पर्ने मेसिनलाई नेपाली १ करोड ५२ लाख पर्ने देखाई अस्वाभाविक रूपमा लागत अनुमान तयार गरिएको उल्लेख छ ।