रास्वपा र राप्रपाद्वारा संसद् बहिस्कार, गृहमन्त्रीको राजीनामा बारे अडान कायमै

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै दुवै दलहरूले आजको संसद् बैठक बहिष्कार गरेका हुन् ।

सोमबार मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको थियो । सो कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरी त्यस अगाडि नै बाहिरिएका थिए ।

सभाबाट बाहिरिनु अगाडि रास्वपाका सांसद शिव नेपालीले जनताको कुरा उठाउनु आफूहरुको अपराध नरहेको बताए । सांसद नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने रास्वपा सांसदहरुको अडान कायमै छ । यस प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायीक छानबिन समिति गठन हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।