काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैंक दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको अभियोगमा आयोगले मुद्धा दायर गरेको हो ।
आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाही र अस्पतालमा रहेको कुमारी बैंकका एक्स्टेन्सन काउन्टरका तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगर विरूद्ध मुद्धा दायर गरेको बताइएको छ । अख्तियारले सुवेदी र शाहीसंग २५ लाख ६७ हजार ५२६ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ ।
साथै सिँजाली मगरविरूद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।