
काठमाडौँ । सतरुढ दल नेकपा एमालेभित्र ७० वर्षे उमेरहद राख्ने कि फुकुवा गर्ने भन्ने बहस ‘पेचिलो’ बन्दै गएको छ । विधान महाधिवेशनबाट ७० वर्षे उमेरहदबारे एमालेले कस्तो नीति लिन्छ भन्नेमा पार्टीभित्रै चासोको विषय बनेको छ ।
आज बस्न लागेको एमाले विधान महाधिवेशन सचिवालय बैठकमा समेत उमेरहदको विषयले प्राथमिकता पाउने बताइएको छ । पार्टीभित्र कार्यकारी कमिटीमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधान राख्नुपर्ने आवाज उठिरहेको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
नेताहरुले एमालेको नवौं महाधिवेशनमा यी दुवै प्रावधानलाई राख्न जोड दिएको र आज बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे विस्तृत छलफल हुने गौतमले बताए ।
यद्यपी, पार्टीको पहिलो विधान महाअधिवेशनपछि ७० वर्षे उमेरहदमात्रै राखिएको भएता पनि कार्यकालको प्रावधान भने थिएन। ७० वर्षे उमेरहद पनि २०८० जेठमा एकीकृत समाजवादी छाडेर एमाले फर्किएका मुकुन्द न्यौपानेहरूलाई जिम्मेवारी दिनभन्दै स्थगित गरिएको थियो।
यता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किने तयारीमा छिन्। विधान महाधिवेशनबाट पार्टीमा उमेरहद ७० वर्ष कायम गर्ने र मूल नेतृत्वमा दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने निर्णय गराएर आफू नेतृत्वमा पुग्ने योजना भण्डारीको छ।
एमालेमा नेतृत्वका लागि ७० वर्षे उमेरहद कायम रहेमा हालका १८ पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष रामबहादुर थापा अर्को महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवार नै बन्न पाउनेछैनन्।
७० वर्षे उमेरहद लागु भए एमालेबाट ओलीसहित यी पाँच नेता एकसाथ बिदा हुनेछन्। त्यसपछि स्वतः दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनेछ।
त्यही दोस्रो पुस्ताको नेतृत्व गर्दै भण्डारी पार्टी राजनीतिमा आउन लागेको एमालेका केही नेताको बुझाइ छ। भण्डारी ६४ वर्ष उमेरमा हिँडिरहेकी छिन्।
पार्टीमा तेस्रोपटक अध्यक्ष बन्न अवरोध हुने अवस्था देखिएमा ओली विधान महाधिवेशनबाटै अवरोध हटाउने तयारीमा जुट्ने बताइएको छ। उनले यो विषयमा भने कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्।
पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई भेटेर आफू एमाले राजनीतिमा सक्रिय हुने बताइसकेकी छन्। भण्डारीले पार्टीमा देखिएका समस्या समाधान गर्न आफू सक्रिय राजनीतिमा आउन लागेको बताउदै आएकी छन् ।
यता अध्यक्ष ओलीले पार्टीभित्र दुई नेतालाई देखाएर खेल्न खोज्नेहरू सक्रिय भएको बताएका थिए।
यतिबेला एमालेभित्र र बाहिरको एउटा समूहले भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने बताइरहेको छ। ओलीले गत जेठ २५ गते कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रका अवसरमा भण्डारीको जिल्ला भ्रमणलाई लक्षित गर्दै उनको पक्षमा नखुल्न नेता–कार्यकर्तालाई घुमाउरो पारामा चेतावनी दिएका थिए।
ओलीको अभिव्यक्तिबाट असन्तुष्ट बनेकी भण्डारीले ओलीसँग भेटेर विधान महाधिवेशनबाट ७० वर्षे उमेरहद कायम गर्नुपर्ने बताएकी थिइन्। भण्डारीले राजनीतिमा आउने प्रष्ट धारणा राखिसकेकी छिन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवालीलगायत नेताहरूले उमेरहद राख्नुपर्ने बताउँदै आएका छन् । उमेरहदकै कारण एमालेमा तत्कालीन नेता भरतमोहन अधिकारी, सिद्धिलाल सिंह लगायत नेता सक्रिय राजनीतिबाट सन्न्यास लिएका थिए। एमाले आउँदो फागुनभित्रै ११ औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी पनि गरेको एमाले नेताहरू बताउँछन्।