विशेष अदालतद्वारा पूर्वप्रधानमन्त्री नेपालसँग ‘३५ लाख’ धरौटी माग

दियोपोस्ट संवाददाता

काठमाडौं । पतञ्जली जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसंग विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतले माधव नेपालको तत्कालिन पदीय हैसियत र भूमिका समेतलाई मध्यनजर गरिएको भन्दै ३५ लाख धरौटी माग गरेको हो ।

विशेष अदालतले चार पेज लामो आदेशमा करिब डेढ पेजजति मुद्दामा वकालत गर्ने कानुन व्यवसायीहरूको नाम समावेश गरेको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटी मागेको बताइएको छ ।

अदालतले मन्त्रिपरिषद्को निर्णयका आधारमा हदबन्दी छुटको जग्गा सट्टापट्टा र किनबेच भएको भन्दै मन्त्रिपरिषद्को अध्यक्षता गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साधारण तारिखमा छाड्न इन्कार गरेको थियो ।

जग्गा खरिद बिक्रीका निर्णय, हदबन्दी छुटका प्रस्तावहरू, तत्कालिन सचिव त्रिलोचन उप्रेती र मन्त्री डा. मिनेन्द्र रिजाल लगायतको बयानलाई आधार मान्दै विशेष अदालतले विशेष अदालत ऐनको दफा ७(घ) अनुसार धरौटी मागेको हो । उक्त दफामा थुनामा राख्न नपर्ने आरोपितसँग धरौटी माग्न सकिने व्यवस्था छ ।