चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । पहिरोको जोखिम ल्याउन सक्ने ठूला ढुंगा हटाउनका लागि सडक बन्द गर्न लागिएको हो ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भरतपुरको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार तुइन खोलामा बेलाबेलामा पहिरो गएर बाटो थुनिने गरेका कारण हेटौंडाबाट लामो एक्स्काभेटर ल्याएर अड्केका ढुंगा झार्नका लागि सडक बन्द गर्न लागिएको हो ।
असार ३ गते सुक्खा पहिरो खस्दा दिउँसो ४ घण्टाभन्दा बढी सडक अवरुद्ध भएको उनले बताए । साना ढुंगा खसेर गाडीमा क्षति समेत पुगेको थियो ।
बाटो खुलेपछि पनि लेनअनुसार गाडी चलाएर सहयोग गर्न डिभिजन सडक कार्यालयले अपिल गरेको छ ।