
कैलाली । अविरल वर्षाका कारण सुदूरपश्चिमको राजधानी धनगढी र त्यस वरवरका क्षेत्रमा एक हजार भन्दा बढी घरहरु डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्र र त्यस वरपरको बस्ती डुवानमा परेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको बताए । करिब एक हजार घर डुवानमा परेको भएता पनि मानवीय क्षति भने नभएको जोशीले बताए ।
डुवानमा फसेका एक दर्जन मानिसलाई प्रहरीले उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको जानकारी दिए ।
पीडितलाई धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको डीएसपी सिंहले बताए ।
आइतबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । अहिले जस्तै वर्षा साँझसम्म भएमा धेरै मानिस प्रभावित हुनसक्ने बताउँदै उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह गरेको छ ।