२ सय ३२ करोड रुपैयाँ ‘अपचलन’ गरेको भन्दै एनआईसी एशिया बैंकका उच्च अधिकारी राष्ट्र बैँकको छानविनमा !

दियो पोस्ट  

काठमाडौँ, ६ असार । आफ्ना आफन्त र नातागोता आर्फत आफैले घुमाएर ऋण लिने र समयमा नतिर्ने । आफै बैंकको उच्च पदमा आशिन भएपछि कसले छुने । निकै चर्चामा रहेको एनआईसि एशिया बैंकका उच्च अधिकारीले यस्तै गरेका छन् । एन आइसि एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालसहित ७ जना बोर्ड सदस्यलाई राष्ट्र बैंकले स्पष्टिकरण लिएको छ ।


सर्वसाधरणको अर्बौं रकम रहेको बैंकबाट ती उच्च अधिकारीले आफू खुसी आफ्ना आफन्त मार्फत २ सय ३२ करोड (२ अर्ब ३२ करोड) रुपैयाँ अपचलन गरेको राष्ट्र बैंक उच्च स्रोतले जनायो ।

राष्ट्र बैँकको बैँक तथा वित्तिय संस्था नियमन विभागले उक्त फाइलमाथि अनुसन्धान गरिरहेको उच्च स्रोतले जानकारी दियो । यसअघि विभागका प्रमुख रहेका नारायण पौडेलले आफू पदमा बहालमा रहँदा उक्त फाइल लुकाएको समेत स्रोतले जनाएको छ । बैंक तथा वित्तिय संस्था नियमन इकाइमा बम बहादुर मिश्र प्रमुख भएर आएपछि एनआइसि एशिया बैंकको लुकाइएको सबै फाइल खुल्ने भएको छ । स्रोतका अनुसार करिब ३ सयभन्दा बढी फाइल राष्ट्र बैंकले निगरानी थालेको छ ।


गत आइतबार वित्तिय संस्था नियमन विभागले एनआइसि एशिया बैंकका अध्यक्ष सहित सम्पूर्ण बोर्ड सदस्यलाई कार्यालयमा बोलाएको थियो । तर, नियमन इकाइका प्रमुख मिश्रले आफूलाई थाहा नभएको जानकारी दिए ।


‘उहाँहरुलाई बोलाउनु बैंकका मान्छे र राष्ट्र बैंकका लागि सामान्य कुरा हो,’ उनले भने,‘अरु कुरा मलाई जानकारी छैन ।’


स्रोतका अनुसार गभर्नर चिरञ्जिवी नेपालले नै कुनै पनि बैंकको विषयमा नबोल्न बैंकका अधिकारीलाई उर्दी जारी गरेका छन् ।

यसअघि गत जेठ १७ गते राष्ट्र बैँकले एनआइसी बैँकमा व्यवस्थापकिय त्रुटी देखिएको भन्दै तीन सय भन्दा फाइलमाथि राष्ट्र बैँकले सुक्ष्म अध्ययन थालेको थियो । राष्ट्र बैँकले प्रदान गरेको निर्देशीत कर्जालाई मनोमानी ढंगबाट खर्च गरि दोहोरो ब्यालेन्स सीट बनाएर पेस गरेको भन्दै राष्ट्र बैँकको सुपरिवेक्षण विभागले बैँकको कारोबार र फाइलहरुमाथि निगरानी बढाएको थियो ।

विभिन्न समय चरणमा विवादीत बनिरहेको एनआइसी एसिया बैँक खराब कर्जामा डुब्न लागेको छ । करिब ३ अर्बभन्दा बढी रकम मनोमानी ढंगबाट खर्च गरेपछि सो रकमलाइ तत्काल प्रोभिजनिङ गर्नसमेत राष्ट्र बैँकले निर्देशन दिएको थियो ।


एनआइसि एशिया बैंकमा अध्यक्ष अग्रवाल रहेका छन् । त्यस्तै रामचन्द्र संघाई, जगदिश प्रसाद अग्रवाल, त्रिकोण एडभटाइजिङ एजेन्सीका राजेन्द्र अर्याल, विनोद कुमार प्याकुरेल, गणेशमान श्रेष्ठ र त्रिलोक चन्द अग्रगाल वोर्ड सदस्य रहेका छन् ।

TATA ADD