काठमाडौं । त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए ।
“प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्ने जस्ता समस्या देखिए”, उनले भने, “प्राध्यापकको अल्छीका कारणले प्रश्नपत्र दोहरिएको हो ।”
उनले त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु सम्बन्धमा सम्बन्धित प्राध्यापकलाई कारबाही गरिएको बताए । त्रिविले प्रश्नपत्र
हुबहुका सम्बन्धमा प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
सोही छानबिन समितिको सिफारिसमा तीन जना प्राध्यापकलाई कारबाही गरिएको उनले बताए । त्रिविमा मानविकी सङ्कायले गत जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषय अन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।
समिति सभापति जयपुरी घर्तीले हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गर्न निर्देशन दिइन् । “प्रश्नपत्रका सम्बन्धमा कहाँ–कहाँ गल्ती भएको छ”, उनले भनिन्, “ती गल्ती गर्नेलाई कारबाही गर्नुपर्दछ ।”
समिति सदस्य योगेश भट्टराईले दोषीलाई कारबाही गर्नुपर्ने भन्दै त्रिवि कार्यालय तोडफोड गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए । समिति सदस्य गिरिराजमणि पोखरेलले त्रिविलाई पुनः संरचना गर्नुपर्ने बताए । सदस्य नवीना लामाले त्रिवि तहसनहस बन्न पुगेको भन्दै सबै मिलेर जोगाउन आवश्यक रहेको बताइन् ।
समिति सदस्य मनकुमारी जिसी, सरिता न्यौपाने, मानबहादुर विकलगायतले त्रिविमा पटक–पटक प्रश्नपत्रमा हुने कमजोरीलाई अन्त्य गर्नुपर्ने भन्दै प्रश्नपत्रको सेटबाट नभई प्रश्नपत्र बैंकबाट छान्नुपर्नेमा जोड दिए ।
रासस