काठमाडौ । मानविकी समाज विज्ञान भएकाले यसको महत्व धेरै रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । मानविकी तथा समाज विज्ञान र युवा विषयमा ख्वप कलेज देकोचा भक्तपुरले आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताहरुले मानविकीले मानिसलाई प्रश्न गर्न सिकाउने बताए ।
बागमति प्रदेशका सांसद सृजना सैंजूले मानविकीको अध्ययनले विद्यार्थीलाई प्रश्न गर्न सिकाउने बताइन् । सैजूले मानविकीको मुख्य आकर्षण भनेकै प्रश्न गर्न सिकाउनु रहेको बताइन् । यसको अध्ययनले विद्यार्थीमा समाज किन वर्गमा विभाजित छ भन्ने प्रश्न गराउन सिकाउँंछ, उनले भनिन्, समाज धनी र गरिव दुई वर्गमा विभाजित छ भन्ने प्रश्न गर्न सिकाउँंछ ।
उनले वास्तवमा प्रश्न नै ठूलो हतियार भएको बताइन् । प्रश्न गर्नसक्ने क्षमताले समाधान निस्कने उनको भनाई थियो । उनले मानविकी संकाय अध्ययन गर्नु भनेको समाज अध्ययन गर्नु रहेको बताए । समाज अध्ययन गर्नु भनेको समाजका समस्याहरु खोतलखातल गर्न सिकाउनु र समाधानहरु पता लगाउन सक्ने बनाउनु हो, उनले भनिन् ।
कार्यक्रम चार चरणमा विभाजन गरी भएको थियो । पहिलो चरणमा मानविकी संकायको विषयमा कलेजको मानविकी संकाय अन्तर्गत विए. विएएसडव्लू तथा एमए अंगेजीका इन्चार्ज कमिनिका न्याइच्याईले प्रस्तुतीकरण गरेका थिए । दोश्रो चरणमा कलेजका पत्रकारिताका सहप्राध्यापक सृजना खड्काको मध्यस्थतामा बागमति प्रदेशका सांसदद्धय सुरेन्द्रराज गोसाई र सृजना सैंजूसँंग मानविकी संकायबारे छलफल गरिएको थियो । तेश्रो चरणमा सहभागीहरुसँंग प्रश्न लिएर प्रश्नउतर गरिएको थियो ।
अन्तिम चरणको फिडब्याक सेसनमा कलेजका प्राचार्य रुपक जोशी, सहप्राचार्य डा राजेशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलेज र विद्यालयहरुमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षकहरु सहभागी भएका थिए ।
मानविकी संकायको महत्वबारे युवा जमातलाई बुझाई यसलाई अझ ब्यापक बनाउन कार्यक्रम गरेको कलेजले जनाएको छ । आयोजक कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चार वटै संकायमा स्नातकोतर तहसम्म नै अध्ययन हुन्छ ।