काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रमेश पोखरेल र देवनारायण महर्जनलाई गरेको हो।
पोखरेल समरजंग कम्पनीका तत्कालनी प्रमुख हुन्। यो कम्पनीले ललिता निवासको धेरै जग्गा आफ्नो स्वामित्वमा ल्याएको थियो। त्यही जग्गालाई व्यक्तिका नाममा सारिएको थियो।
त्यो जग्गालाई व्यक्तिका नाममा सार्दा नक्कली मोही बनाइएको पाइएको थियो। आज पक्राउ परेका महर्जनलाई नक्कली मोही रहेको स्रोतले बतायो । पाेखरेल समरजंग कम्पनीका तत्कालिन प्रमुख हुन् ।
यो प्रकरणमा सीआईबीले नौ जनालाई पक्राउ गरिसकेको छ। शुरूआतमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका थिए। त्यसपछि पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका थिए।
ललिता निवासको १४३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा पास गरिएको भन्दै सीआईबीले अनुसन्धान शुरू गरेको हो। यसमा सीआईबीले २२० जनामाथि अनुसन्धान गरिरहेको छ।