मुक्ति समाजमा पहिरो, ११ जना केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा एमालेनिकट दलित भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका ११ जना केन्द्रीय सदस्यले सामुहिक राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असहमति जनाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा पार्टीको प्रदेश कमिटी सदस्य समेत रहेका लक्ष्मी बिक, सत्यराज स्नेही, बलभद्र दयाल र लाल बहादुर बिक रहेका छन् ।

पार्टीको विभिन्न जिल्ला कमिटिमा समेत रहेका व्यक्तिहरु सुन्दर जैरु, प्रेम भूल, हंश नेपाली, सुशिला मिजार, कलावती लावड, रमेश तिरुवा र दिनेश नेपाली समेतले राजिनामा दिएका छन् ।

उनीहरु संगठनको सातौँ राष्ट्रिय सम्मेलनबाट मुक्ति समाजको केन्द्रीय सदस्य बनेका थिए । तर संगठनको कार्यविभाजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै थिए ।

सम्मेलन पछिको दोस्रो बैठकका लागि सुदूपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं पुगेका उनीहरुले राजीनामा दिएर जिल्ला फर्किएका थिए । उनीहरुले पार्टीका ४ जना प्रदेश कमिटी सदस्य उपस्थित हुँदाहुँदै कञ्चनपुर जिल्ला कमिटि सदस्य रहेका भारमल सुनारलाई प्रदेश इन्चार्ज बनाएको प्रति आपत्ति जनाएका छन् ।

संगठनमा विद्यमान स्वेच्छाचारिता, एकल निर्णय प्रवृत्ति र पक्षपाती नेतृत्वशैलीप्रति विरोध स्वरूप राजीनामा दिएको एक सदस्यले बताए । उनले संगठन सुदृढ बनाउने सन्दर्भमा गरिएको प्रारम्भिक सहमतिलाई बेवास्ता गर्दै कार्य विभाजनमा कुनै सल्लाह र समन्वय नगरी एकपक्षीय निर्णय गरिएको र यो निर्णयका लागि प्रदेश नेतृत्वसँग समन्वय तथा अग्रज नेतासँग छलफल नगरिएको राजीनामा पत्रमा उल्लेख छ ।

संगठनको इन्चार्ज र अध्यक्षको कार्यशैली स्वेच्छाचारी, अधिनायकवादी र पक्षपाती रहेको उनीहरुको आरोप छ । नेतृत्वले निर्णय नसच्याए अन्य केन्द्रीय सदस्य र सुदूरपश्चिमका ९ ओटै जिल्ला अध्यक्षले समेत राजीनामा दिने तयारी गरिरहेको उनीहरुले बताए ।

राजीनामा दिने व्यक्तिले संगठनप्रतिको प्रतिबद्धता कायमै रहेको जनाउँदै नेतृत्वमा देखिएको व्यवहार र निर्णय प्रक्रियामा सुधार नभएसम्म जिम्मेवारी बहन गर्न नसक्ने बताएका छन् ।

सम्बन्धित खबर